2026 April 27/ 01:53: 30pm

          धुलिखेल/जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकले शीतलहर तथा हिमपातबाट प्रभावित हुन सक्ने विपन्न समुदाय एवम बस्तीहरुको पहिचान गर्ने निर्णय गरेको छ । 
    आईतबार धुलिखेलमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । पहिचान भएका समुदाय एवम बस्तीहरुमा रहेका व्यक्ति एवम् परिवारहरुमध्ये पनि अति विपन्न, संकटापन्नहरु र चिसोबाट जोखिममा पर्न सक्ने परिवारको सदस्य संख्या तथा घरमूली भए नाम समेत एकिन गरी ७ दिन भित्र पठाउन स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरी जिल्ला आपकालिन कार्य संचालन केन्द्रसँग सूचना÷समन्वय गर्न स्थानीय तहहरुमा अनुरोध गर्ने, सबै स्थानीयतहहरुले न्यूनतम राहत सामग्रीहरु तयारी अवस्थामा राख्ने, स्थानीय विपद् व्यवस्थापन कोषमा रहेको रकम मापदण्ड कार्यविधी तयार गरी व्यवस्थापन गर्ने र वितरण भएको राहतको विवरण जिल्ला विपद् व्यवस्थापन समितीमा जानकारी गराउने, विपद् व्यवस्थापनमा काम गर्ने संघ÷संस्थाहरुले स्थानीय तहसँग समन्वय गरी कार्य गर्ने, गरेको कामको प्रगति विवरण जिल्ला विपद् व्यवस्थापन समितीमा पठाउने तथा २०८० साल माघ २ गते राष्ट्रिय भुकम्प दिवस विविध कार्यक्रम गरी मनाउन सवै स्थानीय तहहरुलाई अनुरोध गर्ने र जिल्ला स्तरमा विपद व्यवस्थापन समितिका सदस्यहरु सहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । 
    बैठक प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम र उपप्रमुख रिमबहादुर तामाङ सहित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत र विभिन्न कार्यालयका प्रमुख सहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले जिल्लामा विपद व्वस्थापनमा भएका कार्यहरुको समिक्षा गरेको छ । त्यस्तै जिल्लामा एम्वुलेन्स संचालनको अवस्था सम्बन्धमा समीक्षा गर्दै पुष २० गते बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितीले गरेका निर्णय कार्यान्वयनको लागि स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यस्थापन कोषमा हाल सम्म मौज्दात रहेको एक करोड ९३ लाख ९७ हजार ७ सय ५१ रुपैया रहेको जानकारी गराईएको छ । आर्थिक वर्ष २०८०÷२०८१ को श्रावण देखि पौष २१ गतेसम्म पहिरो, आगलागी, हावाहुरी लगायतका विपदका घटनामा पीडित भएका २१ घर परिवारलाई न्यूनतम ५ हजार देखि २० हजारसम्मको क्षतिपुर्ती र मृतक ब्यक्तिका आफन्तलाई २ लाख रुपैया समेत गरी ४ लाख ६६ हजार रुपैयाँ उपलब्ध गराईएको छ । उक्त खर्चलाई बैठकले अनुमोदन गरेको छ ।