विद्यार्थीहरुको दाँत परिक्षण
बनेपा/बनेपाको हिमालय माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको दाँत परिक्षण गरिएको छ । शिर मेमोरियल अस्पताल बनेपाको आयोजनामा विद्यालयका विद्यार्थीहरुको दाँतको परिक्षण निःशुल्क गरिएको हो । अस्पतालको दाँत विभागको टोलीले विद्यार्थीहरुको दाँतको परिक्षणसँगै सचेतना कक्षा लिएको थियो । अस्पतालले विगत ५ वर्ष देखी अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसका अवसरमा निरन्तर विद्यार्थीहरुको दाँत परीक्षण गर्दै आएको नर्सिंङ विभाग प्रमुख उमा थापा मगरले बताईन् ।
थापाले शिर मेमोरियल एड्भेन्टिस अस्पतालले समुदायसँगै रहन विभिन्न कार्यक्रमहरूका साथै तालिम, शिविरहरू आयोजना गरी समुदायलाई सहयोग गरेको बताईन् । समुदायलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य र चाहना अनुसार उक्त शिविर आयोजना गरिएको थापाले बताईन् । शिविरमा मुखको जाँच, ओरल प्रोफ्ल्याक्सिस् र मुखको सरसफाई सम्बन्धी जानकारी, दाँतको सफा गर्ने तरिका, सहितको दाँतको पुनस्र्थापना र शिविरमा दाँत सम्बन्धी जटिल समस्या भएका विद्यार्थीलाई अस्पतालमा रिफर गरी विशेष छुटमा उपचार गरिने बताएको छ । विद्यार्थीहरुलाई परिक्षण सँगै साबुन, ब्रस, मन्जन, खाजाको समेत ब्यबस्था गरिएको थियो । शिविरमा शिशु कक्षा देखी कक्षा ६ सम्मका विद्यार्थीहरुको दाँत परीक्षण गरिएको थियो भने कक्षा ७ देखी १२ सम्मका विद्यार्थीहरुको ६ महिना अघि परिक्षण गरेको थियो । शिबिर कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले अस्पतालले समुदायमै गएर शिबिरको कार्यक्रम राखेकोमा धन्यबाद दिएका थिए । अस्पतालले दुःखी गरिबहरुलाई उपचारमा छुट, विभिन्न ठाँउमा पुगेर स्वास्थ्य शिविरहरु सञ्चालन गरि समुदायलाई स्वस्थ बनाउन निरन्तर लाग्नु पर्ने र वडाको तर्फबाट गर्नुपर्ने सहयोग रहने वडा अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष होमप्रसाद तिमल्सिना, प्रधानाध्यापक धुर्बप्रसाद भट्टराई, अस्पतालका प्रल्हाद भुर्तेल लगायतको सहभागिता रहेको थियो ।









