पनौत/नवल समाज पनौतीको आठौं बार्षिक साधारण सभा तथा सदस्यका परिवारको शैक्षिक सफलताको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष श्री सृजन पसछेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्व रहेको थियो ।
विशिष्ट अतिथि नवल महिला समाजका अध्यक्ष रूशी ताम्राकार रहेका थिए । कार्यक्रममा बोल्दै संस्थाको उत्तरोत्तर प्रगति र सामाजिक कार्यमा सदा तत्परता सहित नवल समाज अघि बढ्न सँधै हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गर्दै विद्यार्थीलाई एड्रिन ताम्राकार, रिबेक रघु श्रेष्ठ र रूजल ताम्राकारलाई एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्मान तथा नगद उपहार प्रदान गरे । अध्यक्ष रामकृष्ण श्रेष्ठले दुई बर्षको कार्यकालमा गरिएका सफलताको रिपोर्टिङ्ग गर्दै अब आउने कार्यसमितिलाई काँधमा काँध मिलाई सहयोग गर्ने र नवल समाजको नयाँ अध्यायलाई नविनताको रूपमा अगाडि बढाउन प्रेरणा दिए ।
साधारण सभाबाट नयाँ कार्यसमितिमा संस्थालाई अगाडि हाँक्न अध्यक्षमा किशोर हलुवाई, उपाध्यक्षमा सन्तोष ताम्राकार, सचिव अनिलराज ताम्राकार, कोषाध्यक्षमा समन ताम्राकार, सदस्यमा सविन सैंजु, सरोज श्रेष्ठ र बिबेक रघु श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाले आगामी दिनमा नयाँ कार्यक्रम संचालन गर्ने सचिव अनिलराज ताम्राकारले बताए ।









