बनेपा/एसओएस बालग्राम नेपाल अन्र्तगतको डिजिटल डिभाईसका अवरोधहरु तोड्दै विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउन संचालित कार्यक्रमका बारेमा सामुदायिक विद्यालयहरुको सूचना, संचार तथा प्रविधीमा क्षमता अभिबृद्धिको सन्दर्भमा भएका उपलब्धी तथा सिकाईहरुको आदान–प्रदान गरिएको छ ।
एसओएस बालग्रामका कार्यक्रम संयोजक उपेन्द्र मल्लले आईसिटीमा आधारभूत शिक्षाले विद्यालय, शिक्षक र विद्यार्थीहरुको क्षमतामा बृद्धि भएको बताए । नमुना कार्यक्रम स्वरुप जिल्लाका तीन विद्यालय पनौतीको शान्ति निकेतन मावी, बनेपाको गणेश भारती स्कुल र एसओएस बालग्राम श्रीखण्डपुरमा लागु भएको छ । ‘नयाँ सोच र तरिकाबाट सिकाउने विधी उक्त कार्यक्रमबाट लागु गरिएको छ’– कार्यक्रम संयोजक उपेन्द्र मल्लले भने–‘विपद्मा पनि बालबालिकाहरुलाई नियमित पठनपाठनका लागि कसरी तयारी अवस्थामा रहने ? भन्ने विषयमा समेत सचेत गराईएको छ ।’
परियोजना संयोजक रोशनी सिलवालले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई प्रविधिबाट अध्ययन गराउँदा अपनाउनु पर्ने सुरक्षा, प्रविधिको ज्ञान र सिप तथा सिकाईलाई उक्त कार्यक्रमबाट प्रभावित बनाएको बताएकी थिईन् । तीनवटा विद्यालय र विद्यार्थीलाई २० वटा ल्यापटप, ट्याब्लेटस् १ हजार १० वटा, स्मार्ट बोर्ड तीनवटा र १८ महिनाको इन्टरनेट उपलब्ध गराएर परियोजनाले विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाएको सिलवालले बताईन् ।
एसओएस बालग्रामका कानूनी सल्लाहकार श्रीराम बजगाईले विश्वस्तरको सिकाईमा प्रतिस्पर्धा गर्न प्रविधीमैत्री शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । प्रविधीमैत्री सिकाईका लागि विद्यालय र विद्यार्थीहरुले प्राप्त गरेका प्रविधी र ज्ञानलाई ब्यवहारमा लागु गर्न उनले सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा फोकल पर्सन शिक्षकहरुले कार्यक्रम प्रभावकारी भएको र विद्यार्थीहरुको सिकाईमा फरक आएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।









