बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिर मेमोरियल एड्भान्टिष्ट अस्पतालबीच अस्पतालबाट प्रवाह हुने सेवामा छुट दिने सहमती भएको छ ।
संस्थामा आबद्ध सदस्यहरुलाई अस्पतालले प्रदान गर्ने सम्पूर्ण सेवामा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने सम्झौता भएको हो । साकोसका अध्यक्ष दिनेशराज कायस्थ र अस्पतालका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रभा शाक्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता २०८० पुष १६ गतेबाट लागु हुने साकोसका अध्यक्ष कायस्थले जानकारी दिए । कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश कायस्थ, सञ्चालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत सुवास वैद्य र अस्पतालका प्रतिनिधिको उपस्थिती रहेको थियो । आभाष साकोसले २०७४ साल देखी छोरी अभियान कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । यस वर्षपनि संस्थाको १४ औं वार्षिकोत्सवको अवसरमा मंसिर १४ गते शिर मेमोरियल अस्पतालका जन्मिएको पहिलो छोरीलाई सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत बैद्यले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समेत स्वास्थ्य शिविर, रक्तदान जस्ता विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।









