2026 April 27/ 10:30: 13am

बनेपा/नेपालमा दुईथरी शिक्षाको अन्त्य नगरे सम्म सरकारले लगानी गरेको शिक्षामा कुनै उपलब्धी नहुने पूर्व सञ्चार मन्त्री एवं सांसद गोकुल बास्कोटाले बताउनुभयो । 
जनज्योती माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव एवं पूर्व विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै बास्कोटाले ७० प्रतिशत शिक्षा प्रविधि मैत्री बनाई ज्ञानलाई ब्यबहारीक बनाउनु पर्ने बताउनुभयो । शिक्षामा परिवर्तन आवश्यक भएकाले घोकन्ते शिक्षा भन्दा जीवनोपयोगी शिक्षा प्रदान गर्न सके मात्र शिक्षामा गरेको लगानीको प्रतिफल निस्कने बास्कोटाले बताउनुभयो । अहिलेको शिक्षाले देशप्रति र देशको उत्थान गर्ने, देशमै जनशक्ति रहने अबस्था नभएकाले अब उत्पादन क्षेत्रमा लाग्ने खालको शिक्षा आवश्यक भएको बास्कोटाको भनाई रहेको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक माधव लामिछानेले प्रस्तुत गर्नुभएको थियो । विद्यालयमा ३ वटा पक्की भवन, वास सहितको शौचालय, अपाङ्गमैत्री÷बालमैत्री शौचालय, शुद्ध खानेपानीको ब्यवस्थापन, आईसिटि प्रयोगशाला, विज्ञान प्रयोगशाला, विद्यार्थी लक्षित दिवा खाजा, पठनपाठन छात्राहरुका लागी सेनेटरी प्याड लगायतका सुविधाहरु उपलब्ध रहेको लामिछानेले बताए । विद्यालयमा १८ जना शिक्षक कर्मचारीहरु, २ सय ७१ विद्यार्थीहरु रहेको लामिछानेले बताए । विद्यालयमा केहि भौतिक पुर्वाधारहरु बाँकी रहेको, नैतिक शिक्षा र प्राविधिक विषयबस्तुलाई समाबेश गर्नुपर्ने, आगामी शैक्षिक सत्रबाट विद्यालयको वेभपेज निर्माण गर्ने, कक्षा ११ सञ्चालन गर्ने, शिक्षकहरुलाई शिक्षणविधि तालिमहरु प्रदान गर्दे जाने लामिछानेले जानकारी दिए । 
कार्यक्रममा पूर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, चन्दादाता, सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरन्त शाक्य, उपप्रमुख विमला सापकोटा, शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठी, पूर्व शिक्षक यादव थापा लगायतले शुभकमना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष चन्द्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द रेग्मीले गर्नुभएको थियो ।