2026 April 27/ 08:38: 28am

    उनले मान्दै मानिनन् । अनेक पटक मैले सम्झाएँ । उनको एकोहोरो लिँडे ढिपीले मलाई बाध्य बनायो । सायद संसारमा सबै कुरा मान्छेले टार्न सक्दो रहेछ स्त्रीहरुको ढिपी लोग्ने मान्छेले टार्न नसक्ने रहेछ । श्रीमतीप्रति शंका उब्जन थाले पछि त्यो श्रीमान कहिल्यै उनि प्रति सकारात्मक बन्न सक्दो रहेनछ । श्रीमतीहरुको चरित्रका बारेमा कुरा चल्न थाले पछि छोपेर, लुकाएर पनि केही नहुने रहेछ । नारीहरुको अगाडी नामर्द पुरुषको कोटीमा दर्ज हुनु पनि पुरुषहरुका लागि मरेतुल्य हुने रहेछ । श्रीमतीको चाहना पूरा गर्न पुरुष वा लोग्ने मान्छे जे पनि गर्दा रहेछन् । मैले जे–जे नगर्नु भनेँ उनि त्यहि त्यहि गर्थिन् । मलाई उनको त्यो बानी पटक्कै मन पर्दैन थियो । सायद म त्यस्तो लोग्ने मान्छे हुँला जसले श्रीमतीले गरेको अन्याय र अत्याचारका बारेमा पत्रिका वा संचारमाध्यम मार्फत सार्वजनिक गर्दैछु । केहि ब्यक्तिगत, केहि पारिवारीक, केहि सामाजिक विषय छन् । भन्न मिल्ने मात्रै मैले ब्यक्त गरेको छु । हरेक ब्यक्तिका आफ्ना गोपनियता हुन्छन् । अधिकारका विषय पनि होलान् । समाजका लागि, परिवारका लागि अधिकार पनि कुण्ठित हुने रहेछ । 
    २८ वर्ष लागेँ । विकट जिल्लामा जन्मिएँ । लामो समय गाउँमै संघर्ष गरेँ । म तीन बर्षको हुँदा बुवालाई विरामी ब्यथाले च्यापेछ । गाउँमै अस्पताल थिएन । झारफुक गरेर निको हुन्छ भन्दा भन्दै लामो समय बुबा थला पर्नु भएछ । गाउँभरीका मान्छेहरुले केही नहुने विश्वास गरेछन् । अस्पताल लैजान पनि समस्या नै थियो । लामो बाटो कसरी लैजाने ? कुर्न को जाने ? घरमा कसले हेर्ने ? छिमेकीहरुलाई कहिलेसम्म दुःख दिने ? विविध समस्याहरुका बाबजुत आमाले संघर्ष गर्दै गर्नु भएको मैले जान्ने भए पछि थाहा पाए । मैले धेरै पटक बावु खोज्ने प्रयास पनि गरेछु तर आमाले बाबा र आमा म हो भन्दै सम्झाउनु हुन्थ्यो । आखिर सबैका बाबु आमा दुई जना हुने मेरो चाँहि कसरी एक जना हुने ? म आफै छक्क र अनौठो कुरा भन्दै दिक्क भएको थिएँ । सानैमा बाबु बितेपछि मैले राम्रो शिक्षा मात्रै होईन दिक्षा समेत पाउन सकिनँ । आमाले दुःखसुख गरेर गाउँकै विद्यालयमा क ख पढाउँदै हुनुहुन्थ्यो । एकजना दाई र दिदी हुनुहुन्थ्यो । उतिबेला के रोग भन्ने थाहा भएन पछि बुझे अनुसार गाउँ घर तिर भन्ने गरेको धम्की भन्ने रोगले बुबाको ३५ वर्षमै मृत्यु भएछ । मैले त कहिल्यै बाबु भन्ने शब्द बोल्न नै पाईनँ । बुबा भनेर मेरो मुखबाट फुत्केको भए पनि मेरा लागी बुबा म हो भनेर कोही आउन सक्दैन थियो । मेरी आमाले कहिल्यै छोरा छोरीलाई अर्काे बाबुको माया दिन खोज्नु भएन । आमाको महानता हामी कहिल्यै भुल्न सक्दैनौं । कहिलेकाँही छोरा मान्छे त्यस्तो परिबन्दमा पर्दाे रहेछ कि आमा भन्दा ठुलो श्रीमती हुने रहिछन् । आमाले छोराछोरीको आपत् र विपत्लाई आफ्नै ठानेर गौण बनाईदिँदा रहेछन् । महान् आमाहरुका बारेमा कसरी चर्चा गर्नु ? 
    घरबाट आमा बुबालाई निकालेर सडकमा पु¥याएका थुप्रै घटनाहरु सुन्न सकिन्छ । सम्पत्तिका लागि आफ्नै अभिभावकको हत्या गरेको खबर सुन्न सकिन्छ । आमा भन्ने शब्दको जति महत्व र भावनात्मक सम्बन्ध छ जो बीचमा आए पनि पुरिन र छेकिन सक्दो रहेनछ । कुरा त्यतिमा सीमित छैन । विद्यालय जाँदा वाबु नभएको टुहुरो भनेर जिस्क्याउँदा, खेल्न जाँदा साथीहरुले विना बाबुको छोरा भनेर गाली गरेको र मेरी आमा माथि सतित्वको कुरा देखाउँदै चरित्रहत्या हुने खालका कुरा गरी मानसिक तनाव दिएकाले मलाई इष्र्या जाग्दै गयो । आमाका बारेमा तथानाम बोलेपछि मैले सहनै सकिनँ । म कक्षा ६ मा पढ्दै थिएँ । जसले त्यसो भनिरहन्थ्यो । त्यसलाई मैले पढ्दा–पढ्दै हातमा भएको कलमले टाउकोमा घोपीदिएँ । उसले चिच्यायो । मैले कक्षा नै छाडेर भागिदिएँ । करिब एक साता पछि मात्रै मलाई शिक्षकहरु घरमा लिन आएर कारवाही नगर्ने बचन दिए पछि विद्यालय जान थालेँ । त्यसपछि मलाई कहिल्यै कसैले पनि विद्यालयमा विना बाबुको छोरा भनेर भन्ने आँट गरेनन् । भन्नेको मुख थुन्न कसैले नसक्ने । देख्नेले यसले कुटिहाल्छ भन्दै मसँग डराउने गरेका थिए । गाउँकै विद्यालयबाट तेश्रो श्रेणीमा एसएलसी पास गरेँ । घरका अन्य सदस्यले आमालाई सहयोग गर्न गएनन् । कान्छो छोरालाई पढाउनु पर्छ भन्दै मलाई दुुःख सुख गरेर पढाउनु भएको थियो । बुवाको मृत्यु भएपछि हामीले पाउनुपर्ने अंश समेत पाउन सकेका रहेनछौं । काका र हामी दुई परिवार । बाबुको उपचारमा लागेको खर्चमा अंश सकियो भन्दै आमालाई अंश समेत दिईएको रहेनछ । ज्यालापानी गरेर एक हल गोरु लाग्ने बारीमा उत्पादन भएको मकै र गहुँ खाएर हामी हुर्केका रहेछौं । आमाले हाम्रो मुख थुन्न कति मेहनत गर्नुभयो होला तपाई पनि एक पटक सोच्नुस् त ? उमेर छँदै लोग्ने वितेपछि कति महिला अर्काे पुरुष नभई संघर्ष गरिरहन्छन् होला ? मलाई यो संसारमा सबै भन्दा ठुलो जन्म दिने मेरी आमा र म बसिरहेको पृथ्वी हो । मलाई जे भने पनि र गरे पनि सहन सक्छु तर मेरी आमा र मेरो पृथ्वीलाई कसैले चिथोरेको वा धावा बोलेको म सहन सक्दिनँ । 
    आँखा रसाए । सायद अहिलेको समयमा धेरै कम मात्रै पाईन्छन् यस्ता नेपाली । एसएलसी पास गरे लगत्तै म उच्च शिक्षा पढ्न राजधानी आउने सोचाईमा थिएँ । तर समस्या त्यहि थियो कहाँ पढ्ने ? तेश्रो डिभिजन ल्याएको ब्यक्तिले कुन विषय पढ्ने ? पढ्न त पाईएला तर कहाँ बस्ने ? के गर्ने ? के खाने यावत् कुराले सताउन थाल्यो । गाउँमा माओवादीको प्रभाव फैलिएको थियो । हाम्रै गाउँका नेताहरु कांग्रेसका ठुला मान्छे थिए । प्रहरीमा जागिर खान र नेपाली सेनामा जागिर खान खासै समस्या थिएन । गाउँमा गए देखि माओवादीको सदस्यता लिएर युद्धमा सहभागि हुनु पर्दथ्यो । युद्धमा गएर ज्यान खेर फाल्नु भन्दा राष्ट्रको सेवक भएर मर्नु बेश ठानेँ मैले । हुनत गाउँमा राज्यको नोकरी गर्न गएको भन्दै माओवादीले घरमा भएका निर्दाेषलाई लखेट्न थालेका थिए । मेरा सामु घर परिवार र राष्ट्रको सेवा गर्ने दायित्व थियो । मान्छेको भाग्य बलेर आउँछ तर त्यसलाई कसरी लिने भन्ने कुरा मात्रै फरक हो । मेरो पनि भाग्यले साथ दियो । तत्कालीन शाही नेपाली सेनामा भर्ना खुल्यो । मैले आवेदन दिएँ । कसैको शक्ति वा भनसुन चलेन एकैपटक नाम निक्लियो । तालिममा आउ भन्यो । ६ महिनाको तालिम सकिए लगत्तै मलाई खोटाङ पठायो । 
    म जहाँ–जहाँ गएँ त्यहाँ–त्यहाँ भिडन्त भएन । घरमा सबै खुशी पनि दुःखी पनि थिए । कारण जागिर पाएकोमा सुखी र कतिबेला माओवादीसँगको भिडन्तमा मर्छ भनेर डर मानिरहेका थिए । एकैपटक चार वर्ष पछि घर पुगेको थिएँ तर घरमा राति नै माओवादी आएकाले गोठमा सुते । दिनको उज्यालोमा भागेर कार्य क्षेत्र गएँ । त्यसपछि एकै पटक म २०६३ सालको मंसिरमा घर गएँ । घरमा विवाहको तयारी गरिएको रहेछ । गाउँकै एकजना धनाढ्यकी छोरी मागिसकेका रहेछन् । हेर्दा राम्री रहिछ । उच्च शिक्षा सम्म अध्ययन गरेकी उनको चरित्रका बारेमा गाउँका मान्छेहरु भन्दा म जान्ने थिईनँ । सबैको करकापमा भएपछि मैले विवाह गरेँ । केहि समय उनीसँगै विताएर म नोकरीमा गएँ । कहिलेकाँही मोबाईलमा कुरा गरेर माया साटासाट हुन्थ्यो । मोवाईलको फोनबाट गरिएको मायाले कतिदिनसम्म थाम्न सकिन्थ्यो र । महिनाको एकपटक घर आउन थाँले म । तर पनि केही महिना पछि उनको मन म तिर भन्दा अर्काेतिर ढल्कन थालिसकेछ । यो कुरा घरतिर ब्यापक भएछ । मलाई बोलाए । म गएँ तर मलाई उनले त्यस्तो कुरा भनिनन् । उनको विश्वासमा म यति फसेँ कि ? सायद मैले कहिल्यै अरु कसैको कुरा सुन्न सकेको थिईनँ । नारीहरुको विश्वासमा लोग्नेमान्छे परेपछि कहिल्यै त्यसबाट मुक्त हुन सक्दो रहेनछ । गाउँ र समाजले श्रीमतीको बारेमा भनेको कुरा मैले कहिल्यै विश्वास गरिनँ । अझ परिवारले उल्टो आफ्नो बुहारीको संरक्षण नगरेको भनेर उनिहरुसँग समेत सामान्य मनमुटाव भयो । तर पनि मैले विश्वास गरेको थिएन कि मेरो श्रीमती अरुले भने जस्तै छ । घरमा आउँदा दुरुस्तै हुन्थी । महिलाको विश्वास नगरेपनि नहुने गरे पनि नहुने ? गाउँले हुन् कसको मुख थुन्न सकिन्छ भनेर हामीले वास्ता गरेनौ तर मैले उनले प्रयोग गरेको मोबाईल प्रयोग गरेँ । त्यो फोनमा त अनेकथरीका फोनहरु आउँदा रहेछन् । हेर्नै नसकिने भिडियो क्लिपसहरु राखिएका रहेछन् । अझ उनी र गाउँकै आफन्त पर्नेसँग गरिएको कुराकानीले मेरो मन कटक्क पा¥यो । एक रात उसैले फोन ग¥यो मैले श्रीमतीको स्वर पारेर फोन उठाएँ । उसले आजको रात तिमीसँग विताउने कुरा ग¥यो मैले आज सकिदैन भनँे । उसले झ्याल खोलिदेउ म आउँछु भन्यो । मैले आज मिल्दै मिल्दैन म माईतीमा गएको छु भनेँ । तर उसले बेलुकासम्म घरमै देखेको छु ढाँट्ने भन्यो । मैले त्यसो भए ल आउनुस् न त आधा घण्टा पछि भनेँ । घरमा दाजुलाई फोन गरेँ । गाउँलेहरु सबै भेला भएछन् । आधा घण्टा पछि उ आएछ । झ्याल बन्द थियो तर उसले ढकढक गरेको सुनेपछि तयार भएर बसेका गाउँलेहरुले चोर–चोर भन्दै भक्कु कुटे । आफ्नो श्रीमती र परिवारको लागि रात दिन नभनेर दुःख गर्ने श्रीमान्को आँखामा छारो हालेर कुनै श्रीमतीले त्यस्तो ब्यवहार गर्छे भने तपाई सहन सक्नुहुन्छ ? भोलिपल्ट गाउँका सबै भद्रभलाद्मी जम्मा भए । हाडनाता थियो । दुवैलाई कारवाहीको कुरा चल्यो । माओवादीको एक छत्र शासन थियो । प्रहरीलाई खबर गर्ने कुरै भएन । म त उसै नि आर्मीको मान्छे थिएँ । विहानै उठेर भाग्नुको विकल्प थिएन । घर परिवार र आफन्तको छलफलबाट उनलाई माईतीमा पठाउने र त्यसलाई सामाजिक बहिस्कार गर्ने निर्णय भएछ । पछि उसैले माओवादीलाई उल्टो कुराको उजुरी गरेछ र हाम्रो परिवारलाई चन्दा माग भएछ । चन्दा दिन नसके केहि दिन भित्रै सिध्याईदिने धम्कि पनि दिएछन् । म त जागिर मै थिएँ । साथीहरुसँग घटना शेयर गरेको नामर्द पुरुष भनेर कुरा काट्न थाले । धेरै समय घर आउन सकिनँ । उनकै पीडाका कारण आमासँगको सम्बन्धमा समेत चिसो आयो । आमाले त्यस्तो श्रीमतीको श्रीमान् हुनु भन्दा मर्नु राम्रो भनेर गाली गर्नु भयो । आमा आफै उमेर छँदै विधवा भएर हामीलाई हुर्काउनु भएको थियो । आमाको जवाफ मसँग थिएन । मैले अर्काे विवाह गरें । दुई सन्तान छन् । दुबै जागिरमा छौं । अहिले समस्या छैन । तर त्यो घटना र अवस्थाले सदैव चसक्क हुन्छ । विश्वास ठुलो कुरा हो । भावना बुझ्न नसक्नु मेरो कमजोरी हो । हरेक परिवारमा हुन सक्ने यस्ता घटनामा सचेत हुनु आवश्यक हुन्छ कि ?

रेमण्ड थापा
सुर्यविनायक, भक्तपुर