पनौती/स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने नाराका साथ पनौती नगरपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।
दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने स्वयंसेवकलाई पुरस्कृत गरिएको छ भने समयावधि पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित विदाई गरिएको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगरपालिकामा कार्यरत १ सय ४ जना महिला स्वयंसेविकाहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । यस्तै हरेक वडामा उत्कृष्ट कार्य गर्ने १÷१ जना महिला स्वास्थ्य स्वयंसेविलाई नगद सहित सम्मान गरिएको छ । १२ जना स्वास्थ्य स्वयंसेविकालाई नगद ३ हजार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । महिला स्वास्थ्य स्वयंसेविका दिवसकै अवसर पारेर १७ जनालाई सम्मान सहित विदाई गरिएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले बताए । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले स्वयमंसेवीकको योगदान उच्च रहेको बताए । उनीहरुकै कारण बाल मृत्यु, मातृ मृत्यु क्रमशः घट्दै गएको भण्डारीले बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा मेरुदण्डको रुपमा काम गरिरहेको उनको भनाई छ । कार्यक्रममा उप–प्रमुख गीता बञ्जारा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, सामाजिक विकास समिति संयोजक विपिन लामा, विभिन्न शाखाका शाखा प्रमुख, फोकल व्यक्ति तथा महिला स्वास्थ्य स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।









