2026 April 27/ 07:07: 32am

    बनेपा/तरंगिनी फाउण्डेशनको आयोजनामा स्थानीय तह र श्रमजिवी कृषक महिलाहरुको सञ्जालका सदस्यहरुको दोहोरो संवाद कार्यक्रम संचालन भएको छ । बनेपाका वडा नम्बर ३ र १२ का कृषक महिला संजालका सदस्यहरुको अन्र्तक्रिया बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा महिला कृषकहरुले स्थानीय सरकारले कृषिमा अनुदान उपलब्ध गराउँदा विभेद गर्न नहुने, उत्पादन, बजार, मुल्य र सामाजिक सुरक्षाका बारेमा आवाज उठाएका थिए । कृषक परिचयपत्र, तरकारीको  कोल्ड स्टोर तथा विषादीको न्यून प्रयोग, रासायनिक मलको सहज उपलब्धता लगायतका विषयमा उपप्रमुख सापकोटासँग गुनासो गरेका थिए । तरंगिनी फाउन्डेशनकी निर्मला काफ्लेले कृषकहरुले उठाएका आवाजलाई स्थानीय सरकारले सम्बोधन गर्ने गरी सुझाव प्रस्तुत गरिएको बताईन् । उपप्रमुख सापकोटाले स्थानीय सरकारले सक्दो पहल र समन्वय गर्ने बताईन् । कार्यक्रममा वडा अध्यक्ष कमल घिमिरे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले कृषकहरुको आवाजलाई स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने बताए । तरंगिनी फाउण्डेशनले काभ्रेका पाँचखाल नगरपालिकाका वडा नम्बर ३ र १२, पनौतीका ८ र ९ वडा र बनेपा नगरपालिकाका वडा नम्बर १ र ४ वडाका १ सय ७१ जनालाई तालिम लगायतका विषयमा सहजिकरण गरिएको छ ।