भकुण्डेवेशी/नमोबुद्ध नगरपालिकाले घरदैलो सेवा दिन शुरु गरेको छ ।
नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपांगता लगायतका लक्षित वर्ग सम्बन्धमा नगरपालिकाबाट प्रदान गरिने सेवासहित सबै वडामा मंसिर मसान्तसम्म एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । ‘आम नागरिकलाई घरदैलोमा नै सेवा सुविधा दिने हाम्रो उद्धेश्य हो ।’ नगरप्रमुख लामाले भन्नु भयो ।
नमोबुद्ध नगरपालिकाले कार्यतालिका नै बनाएर सबै वडाका भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा एकिकृत घुम्ती सेवा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जानकारी दिनु भयो ।
नगरपालिकाकाले एकीकृत घुम्ती सेवा संचालन गरेर नगरपालिकाले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परिक्षण, अपांगता परिचयपत्र वितरण, व्यवसाय दर्ता, घरदैलोमा नै कृषि तथा पशुसम्बन्धी सेवा प्रदान गरेको योजना अधिकृत विष्णुकुमार अधिकारीले बताउनु भयो ।









