2026 April 27/ 08:38: 27am

बनेपा/बनेपा सिनागाल राधे राधे पुण्यमाता खोलामा पुल निर्माण शुरु भएको छ । चारपटकको टेण्डरपछि बनेपा ८ र बनेपा ११ जोड्ने पक्की पुल निर्माण हुने भएको हो । पूर्वमन्त्री एवं काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले पुलको शिलान्यास गर्नु भएको छ । आरसी निर्माण सेवा काठमाडौ जडिबुटीले पुल निर्माणको ठेक्का हात पाएको छ । निर्माण व्यवसायी सँग गत असोज २५ गते पुल निर्माण योजना सम्झौता भएको छ । सम्झौता अनुसार २०८१ चैत २४ गतेसम्म पुल निर्माणको काम सम्पन्न हुनु पर्नेछ । पुलका लागि ६ करोड २९ लाख ८१ हजार ७ सय ४७ रुपैयाँ २४ पैसा लागत अनुमान गरिएकोमा भ्याट सहित ५ करोड ५७ लाख ५५ हजार ८ रुपैयाँ ८९ पैसामा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।  २० मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाईको उक्त पुल निर्माणपछि बनेपा ११ सिनागालका स्थानीयबासीलाई बनेपा बजारसम्म आवत जावतका लागि सहज हुने ११ का वडडा अध्यक्ष शिब कुमार थापाले बताउनु भयो । लामो समय सम्म पुल नबन्दा बर्खाका सयम निकै समस्या पर्दै आएको थियो, उक्त पुल निमार्ण समन्न पश्चात बनेपा ११ र ८ वडाबासीलाई राहत पुगेको थापाले बताउनु भयो ।  
पुल शिलान्यास कार्यक्रममा बोल्दै सांसद बाँस्कोटाले विकासको काममा आफूले राजनीति नगर्ने भन्दै आफूले बोलेअनुसार विकास निर्माणका कामहरु धमाधम भइरहेको बताउनु भयो । पुण्यमाता करिडोर निर्माण अवरुद्ध पार्न मुद्दा हालिएकोमा असन्तुष्टि जनाउँदै बाँसकोटाले  मुद्दा हाल्नेहरुले किन करिडोर नबनेको हो जवाफ दिनुपर्ने पनि बताउनु भयो । उनले पुल निमार्णको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नु भएको छ  ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरन्त शाक्यले सबैसँग हातेमालो गर्दै अघि बढ्न सके बनेपाको विकास थप अघि बढ्ने बताउनु भयो । पुल निर्माणका लागि आवश्यक सहयोग र सहजीकरणका लागि तयार रहेको शाक्यको भनाई थियो । बनेपा नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष शिव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वाधार विकास कार्यालय धुलिखेलका इन्जिनियर ध्रुब खुलाल थापाले पुल निर्माणको प्राविधिक पक्षबारे जानकारी गराएका थिए भने वडा नं. १० का वडाअध्यक्ष चन्द्रवहादुर खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, जिल्ला समन्वय समतिका प्रमुख उद्धब केसी, वडा अध्यक्षहरु, स्थानियलगायतको उपस्थिती रहेको थियो ।