2026 April 27/ 07:08: 08am

धुलिखेल/ब्यक्ति जन्मे देखि मृत्युसम्म आवश्यक हुने दुना टपरीको संस्कृति लोप हुँदै जान थालेसँगै विद्यालयहरुमा विद्यार्थीहरुलाई त्यस सम्वन्धि जानकारी दिदै प्रयोगात्मक तालिम दिन थालिएको छ । बनेपाको बेलर स्कुलमा अध्ययनरत बालबालिकाहरुले दुना टपरी बनाउने तालिम लिएका छन् ।     
    सामाजिक, सांस्कृतिक तथा व्यावहारिक शिक्षा सिकाईको क्रममा विद्यार्थीहरुलाई परम्परागत सिप सिकाउने उदेश्यले बेलर स्कुलले दुना टपरी वनाउने तालिम सञ्चालन प्रिन्सिपल इन्दु थापाले  जानकारी दिईन् । पढाइ सँंगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उदेश्यले कक्षा ९ अध्ययरत छात्र छात्राहरुलाई दुना टपरी वनाउने तालिम प्रदान गरेको हो । 
    साल तथा अन्य पातबाट बनाईने दुना टपरी पछिल्ला दिनमा गाउँघरमा समेत लोप हुँदै गएकोले यसको संरक्षणको लागि तालिमको आयोजन गरीएको प्रिन्सिपल इन्दु थापाले जानकारी दिईन् । ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्य सहित छात्राहरुलाई दुना, टपरी बनाउने जीवनपयोगि परम्परागत सीप प्रदान गरेका हौ’–प्रिन्सिपल थापाले भनिन– ‘विद्यालयका कक्षा ९ मा अध्ययनरत एक सय दुइ जना विद्यार्थीलाई उक्त सिप उपलब्ध गराईएको छ ।’ इच्छुक अन्य विद्यार्थीहरुका लागि पनि उक्त सिप प्रदान गर्ने लक्ष्य विद्यालयले लिएको छ । 
    विद्यालयका शिक्षक शिीक्षकाहरुले सालको पातबाट बनाईने दुना टपरीको आवश्यकता, महत्व र विशेषताका बारेमा प्रकाश पार्दे विद्यार्थीहरुलाई दुना टपरी बनाउने सिप सिकाएका थिए । विशेषगरी हिन्दु धर्म मान्ने ब्यक्तिहरुले भोज भतेर, पूजाआजा जस्ता कार्यक्रममा दुना टपरी प्रयोग गर्ने प्रचलन रहेको छ । पछिल्लो समय कागज र प्लाष्टिकका प्लेटको प्रयोग वढेपछि दुना टपरी लोप हुने अवस्थामा पुगेको हो । विद्यालयस्तरबाटै सीप सिकाउँदा मौलिक कला परम्परा जगेर्ना हुनुको साथै छात्राहरूलाई पछि व्यावहारिक रुपमा समेत सहयोग पुग्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बताए । थापाका अनुसार बेलर स्कुलले विद्यार्थीहरुलाई ब्यवहारीक ज्ञान समेत उपलब्ध गराउँदै आएको छ । सोहि अन्र्तगत दुना टपरी सम्वन्धी सिप सिकाईएको हो ।