बनेपा/नेपालभाषा साहित्य तःमुंज्या भ्वँत (बनेपा) को आयोजनामा सोमबार भ्वँत लायकु डबलीमा पहिलो नेपालभाषा साहित्य र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ‘जनता म्वाःसा भाषा म्वाइ’ नाराका साथ भएको उक्त तःमुंज्यामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले माक्र्सवादी साहित्यले कामदार वर्गको सेवा गर्ने बताए ।
सचिव सुवालले देशमा भएका सबै जातजाति, भाषाभाषीको संस्कृतिको संरक्षण हुनपर्छ, सरकारले पक्षपात गर्नु नहुने बताए । नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले हाम्रा लेखक, साहित्यकारहरूलाई हौस्याउन तःमुंज्याको ‘मुखपत्र’ प्रकाशित गर्नुपर्ने आवश्यकता औंल्याए । केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सांसद सृजना सैँजूले संरा अमेरिकाको सहयोगमा इजरायलले प्यालेस्टाइनमा विध्वंस मच्चाइरहेको र महिला, बालबालिकाको हत्या गरिरहेकोमा विरोध जनाउँदै साम्राज्यवादी अमेरिका युद्ध अपराधी भएको बताए । शिक्षासेवी तथा साहित्यकार मोहन दुवालले साहित्यलाई जनस्तरमा लान तःमुंज्याले गर्दै आएको कामको प्रशंसा गरे । शिक्षाप्रेमी एवं साहित्यकार सूर्य लाकोजूले नेपालभाषा साहित्य तःमुंज्याले कामदार वर्गको पक्षमा दबुलाई उपयोग गर्दै आएको बताए । साहित्यकार हरिगोपाल प्रधानको सभापतित्वमा भएको कार्यक्रम जेष्ठ नागरिक कृष्णलाल प्रजापतिले उद्घाटन गरे ।
सांस्कृतिक कार्यक्रममा चर्या नृत्य, लाखे प्याखँ, हुला प्याखँ र गीत प्रस्तुत गरिएको थियो । अतिथि प्रेम सुवालले सांस्कृतिक गुरु सत्यनारायण डंगोल र किसान कार्यकर्ता मंगलाल मानन्धरलाई सम्मान गरेका थिए । वाचन गरिएका नेपाल भाषाका कविता मध्ये प्रकाश उज्ज्वल प्रथम, ताम्राकार ध्रुव दोस्रो र सुनिता गाइसी तेस्रो भएका थिए ।









