धुलिखेल, रविगाउँ/नेकपा एमाले धुलिखेल नगर कमिटी वडा नम्वर २ ले शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आईतबार पदालीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
अध्यक्ष विदुर कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर कमिटी अध्यक्ष दयाराम महतले एमालेले देश र जनताका लागि सुखी नेपाली समृद्ध नेपालको धारणालाई अघि सार्दै नीति तथा कार्यक्रम र घोषणापत्रलाई ब्यवहारत कार्यान्वयन गरिरहेको बताए । एमालेले जारी गरेको घोषणापत्र अनुसार नगरपालिकाले योजना र नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बताउँदै जनमुखी कार्यक्रमका लागि एमालेले ध्यान दिएको बताए । सरकारले कृषकका पक्षमा ध्यान दिन नसकेको बताउँदै अध्यक्ष महतले सरकार कृषकमैत्री हुनु पर्ने धारणा राखे । कार्यक्रममा एमाले नेता टिकाबल्धव सापकोटा, जिल्ला कमिटी सदस्य श्यामसुुन्दर चौलागाई, देवप्रसाद कोईराला, केदाराप्रसाद कोईराला, वडा अध्यक्ष अर्जुन न्यौपाने, विभिन्न जनबर्गिय संगठनका प्रमुख एवं प्रतिनिधिहरु, एमाले धुलिखेल नगर कमिटी उपाध्यक्ष निरोज खड्का, सचिव विष्णु धिताल, उप सचिव कृष्णहरी कोईराला, वडा कमिटी सचिव रमेश घोरसाईने लगायतले एमालेका कार्यक्रमहरु नागरिकमैत्री हुनु पर्ने बताएका थिए ।









