काभ्रे/पनौती नगरपालिका वडा नम्बर ४ को कार्यालय हाताभित्र सौन्दर्यका लागि वृक्षारोपण गरिएको छ ।
नजिकिँदै गरेका नेपालीहरुका चाडपर्व शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा वृक्षारोपण गर्दै शुभकामना आदानप्रदान गरिएको हो । कार्यालय परिसरमा ३६ वटा धुपीको विरुवा रोपिएको छ । अघिल्लो आर्थिक वर्षमा उपभोक्ता समितिमा रहेर काम गरेका व्यक्ति, सामाजिक काममा सक्रिय व्यक्तित्व र यसै वर्ष दिवंगत हुनुभएका व्यक्तिको सम्झनामा एक÷एक वटा विरुवा सहयोगको लागि वडा कार्यालयले आह्वान गरेको थियो । सोहि बमोजिम ३६ जनाले विरुवाका लागि एक÷एक हजार रुपैयाँ उपलब्ध गराएका थिए । विरुवा सहयोग गर्ने व्यक्तिहरुलाई वडा कार्यालय परिसरमा उत्पादन गरिएको पुष्प (फूल) लगाएर धन्यवाद ज्ञापन गरिएको छ । वडा कार्यालय हाता भीत्र रहेको बगैंचा सयपत्री फूलले ढकमक्क भएको छ । सौन्दर्यसँगसँगै अतिथी सत्कारका लागि वडा कार्यालयले आफैं फूल उत्पादन सुरु गरेको हो । वडा अध्यक्ष दिपक दाहाल लगायत जनप्रतिनिधि र कर्मचारीले फूल बगैंचामा हेरचाह गर्ने गर्नुभएको छ । गत वर्ष पनि वडा कार्यालय कार्यालय परिसरमा फलफुल तथा जडिवुटीका विरुवा रोपिएको थियो । अम्बा लगायतका फलफुलले फल दिन थालेका छन् । गत वर्ष १६ जनाले विरुवा खरिदका लागि सहयोग गरेका थिए । सबैको भावनात्मक एकताका लागि नयाँ कार्यको थालनी गरिएको वडा अध्यक्ष दिपक दाहालले जानकारी दिनुभयो । यसले वडा कार्यालयमा प्रवेश गरेपछि हाम्रो हो भन्ने भावना जागृत गराउने र पर्यावरण संरक्षणमा सहयोग पुग्नुका साथै सौन्दर्य कायम हुने वडा कार्यालयको विश्वास छ ।
कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले वडा नम्बर ४ ले सुरु गरेको काम १२ वटै वडाका लागि प्रेरणा हुने बताउनुभयो । कार्यालयको वातावरणले कर्मचारी र सेवाग्राहीमा सकारात्मक सोचको विकास र मन शान्त बनाउन भूमिका खेल्ने उहाँको भनाई थियो । कार्यालयको वातावरणले सिंगो वडाको झल्को दिने भन्दै उहाँले आफ्ना कार्यालयहरु सफा र हराभरा हुनुपर्नेमा जोड दिनुभयो । यसका लागि सहकार्य, सद्भाव र एकता अनिवार्य रहेको उहाँको भनाई थियो । यस्तै पनौती नगरपालिका उप–प्रमुख गीता बञ्जाराले वडा नम्बर ४ ले दुरदर्शी रुपमा योजना तथा नीति अघि बढाइरहेको बताउनुभयो । वडा कार्यालयले सुरु गरेका काममा सबैको सहकार्य र एकता देखिएको उहाँको भनाई थियो । वडावासीको प्रत्यक्ष सहभागीतामा भएको विकास दिगो हुनेभन्दै उहाँले सबैलाई विकास निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नेपाल सरकारका उप–सचिव रामकुमार सापकोटा, पुर्व वडा अध्यक्ष वुद्धसिं थापा, वडा सदस्यहरु कुमार बस्नेत, राधिका विश्वकर्मा, सविता थापा, प्रकाश बञ्जारा, वडा सचिव कृष्णकाजी श्रेष्ठ, बालमैत्री सहजकर्ता ललिता धिताल लगायत वडावासीको उपस्थिती रहेको थियो ।









