धुलिखेल/हिंसा र दुब्र्यवहारको प्रतिक्रिया दिने स्वास्थ्य संस्था (हेरा) ले स्वास्थ्य संस्थामा उपचारका लागि आएका हिंसा प्रभावित महिलाका सन्र्दभमा गरेको अनुसन्धान प्रतिवेदन धुलिखेल अस्पतालमा सार्वजनिक गरिएको छ ।
‘धुलिखेल अस्पताल, अस्पतालका ५ वटा आउटरिच केन्द्रहरुमा गरिएको २०१८ देखि २०२२ सम्मको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ’– प्रमुख अनुसन्धानकर्ता प्रा.डा.कुन्तादेवी पुनले भनिन–‘स्वास्थ्यकर्मी तथा हिंसा प्रभावित महिलाहरुका विषयमा भएका अस्पस्टता तथा उनिहरुले प्राप्त गर्नु पर्ने कानूनी उपचारका लागि पनि अध्ययनले सहजता बनाएको छ ।’ प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता प्रा.डा.राजेन्द्र कोँजुले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले हिंसा प्रभावित महिलाहरु हुन सक्ने अवस्थाका बारेमा मात्रै जानकारी नभएर त्यस्ता विरामी महिलाहरु प्रति गरिने ब्यवहार र सोधिने प्रश्न र त्यसको रेकर्डिङ्गका बारेमा समेत ज्ञान प्राप्त गरेको बताए । ‘अस्पतालमा आएका महिलाहरु हिंसा प्रभावित पो हुन् कि ? स्वास्थ्यकर्मीहरुले जिज्ञासा राख्न सक्ने भएका छन्’–प्रा.डा. राजेन्द्र कोँजुले भने–‘स्थानीय स्तरमा समेत आमा समुह, महिला समुह, स्वंसेविका महिलाहरुले हिंसा प्रभावित महिलाका बारेमा जानकारी पाउन सक्ने भएका छन् ।’
अनुसन्धानका क्रममा उक्त अवधी भित्र स्वास्थ्यकर्मी, आमा समुह, महिला स्वंसेविका समेत गरी १ सय ७० जनालाई तालिम उपलब्ध गराईएको छ । धुलिखेल अस्पताल, धुलिखेल अस्पतालले संचालन गरिरहेका आउटरिच केन्द्रहरु बोल्दे फेदिचे, बालुवा, मानेखर्क, बाहुनेपाटी लगायतका ५ स्थानमा अनुसन्धान गरिएको थियो । सोहि केन्द्रका आसपास रहेका समुदाय स्तर तथा सरकारी तहका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई पनि तालिम प्रदान गरिएको थियो । ‘अनुसन्धानका क्रममा अस्पताल आईपुगेका ३८ जना महिला हिंसा प्रभावित भएको जानकारी प्राप्त भयो’–अनुसन्धानकर्ता डा.पुनम रिसालले भनिन–‘यो अनुसन्धान नभएको भए ति महिलाहरु हिंसा प्रभावितबाट पीडित हुनुहुन्थ्यो । केहि महिलालाई कानूनी उपचारका लागि पठाईएको छ भने केहिलाई अन्यत्र रिफर गरिएको छ । अनुसन्धानले अस्पतालमा आउने महिलाहरु मध्ये केहि महिलाहरु कुनै न कुनै प्रकारको हिंसाबाट प्रभावित हुने गरेको पुष्टी भएको छ ।’ लैङ्गिक र सामाजिककरण, शक्ति, पितृसत्ता, घरेलु हिंसा र दुब्र्यवहार, उत्तरदायित्व केन्द्रित, हेरचाह, आघात सुरक्षित हेरचाह लगायतका विषयमा अनुसन्धान गरिएको अनुसन्धानकर्ता रिसालले बताईन् ।
विशेषगरी गर्भवति महिला, बालबालिका र उपचारका क्रममा फरक खालका घाउ चोटपटक देखिएका महिलाहरुमा हिंसा प्रभावित हुन सक्ने अवस्थाबाट स्वास्थ्यकर्मीहरुले जिज्ञासा राख्ने, त्यसको रेकर्डिङ्ग गर्ने र हिंसा प्रभावित महिला मैत्री ब्यवहार गर्ने विषयमा अनुसन्धानले थप सहयोग पुगेको अनुसन्धानकर्ता नर्सिङ्ग विभागका लेक्चरर सत्या श्रेष्ठले बताईन् । उनी सोहि विषयमा पिएचडी गरिरहेकी छिन् । अनुसन्धान पछि हिंसा प्रभावित महिलाहरुमा विश्वास कायम भएको, आत्मविश्वास बढेको तथा स्वास्थ्यकर्मीहरुमा हिंसा प्रभावित ब्यवहार गर्न तथा त्यो कोणबाट उपचार र प्रश्नहरु सोध्ने तथा अनुसन्धान गर्ने विषयको ज्ञान भएको लेक्चरर सत्या श्रेष्ठले बताईन् । उक्त अनुसन्धान नेपाल र श्रीलंकामा पहिलो पटक गरिएको हो ।
अनुसन्धानका लागि युकेको एनआईएचआरको सहयोग रहेको छ भने युनिभर्सिटी अफ ब्रेस्टल युके, लण्डन स्कुल अफ हाईजिन एण्ड ट्रपिकल मेडिसिन, श्रीलंकाको युनिभर्सिटी अफ पेराडेनिया, प्यालेस्टाईनको युनिभर्सिटी, ब्राजिलको युनिभर्सिटी अफ सानुपाउलो लगायतले अनुसन्धानका लागि सहयोग गरेका थिए । पाईलट प्रोजेक्टका रुपमा संचालन गरिएको अनुसन्धान प्रतिवेदन पछि पनि उक्त संस्थाहरुमा हिंसा प्रभावित महिला मैत्री ब्यवहार हुनेछ ।









