भकुण्डे/जिल्लाको सरकारी अस्पताल नमोबुद्ध भकुण्डेबेसी स्थित मेथिनकोट अस्पतालमा पहिलो पटक शल्यक्रिया शुरु भएको छ ।
कार्तिक १३ थते सोमबारबाट अस्पतालले शल्यक्रिया शल्यक्रिया सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मधुकर दाहालले बताए । दाहालका अनुसार एक जना बिरामीको हड्डीको शल्यक्रिया गरेर अस्पतालले शल्यक्रिया सेवा प्रारम्भ गरेको हो । ‘अब अस्पतालमा नियमित रुपमा प्रसुति, जनरल र अर्थोपेडिक सर्जरी सेवा संचालन हुनेछ,’– मेसु डा.दाहालले भने – ‘अस्पतालले क्रमसः सेवा, प्रविधी, उपकरण र जनशक्ति विस्तार गर्दै लगेको छ । जसका कारण नागरिकहरुले थप सेवा पाएका छन् ।’
मेथिनकोट अस्पताल विक्रम सम्वत २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको हो । २०६६ सालमा प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएको हो । वि.सं. २०७८ सालमा प्रादेशिक अस्पतालका रुपमा रहेको उक्त अस्पतालमा ५० शैयामा संचालनमा छ । पुर्वाधार निर्माणका लागि प्राप्त बजेट भवनको डिपिआर प्राप्त नभएकै कारण हुन सकेको छैन । यो वर्ष भवन निर्माणको कार्य प्रारम्भ हुने मेसु दाहालले बताए ।









