बनेपा/यस बर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार डा. अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजालाई प्रदान गरिने भएको छ ।
सयपत्री प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको संयोजकत्वमा गठित स्रष्टा छनोट समितिले राष्ट्रिय स्तरबाट डा. सुवेदी र काभ्रेबाट देउजाको नाम सिफारिस गरेको हो । प्रतिष्ठानको कार्तिक १३ गते सोमबार बसेको कार्य समितिको बैठकले अनुमोदन गरेको थियो । सयपत्री प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा बिगत २०५५ सालदेखि नियमित साहित्यिक कार्यक्रम गरि राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडीलाई दम्पतिसहित सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ । यस बर्ष आगामी कार्तिक २५ गते शनिबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा डा.सुवेदीलाई उहाँकी जीवन संगिनी विन्दु सुवेदी र साहित्यकार देउजालाई उहाँकी जीवन संगिनी साबित्री देउजाका साथ सयपत्री राष्ट्रिय सम्मान २०८० द्वारा सम्मानित गरिने छ । सयपत्री सम्मानमा सम्मानित जोडीलाई सम्मानपत्र, सयपत्रीको माला, दूबोको माला, दोसल्ला सहित नगदद्वारा सम्मान गरिनेछ ।









