बनेपा/सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालय इन्टेलिजेन्स ब्युरोको टोली तथा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेबाट खटिएको टोलीले बनेपा नगरपालिका वडा नम्वर ८ बसपार्क नजिकैबाट रात्री बसमा लुकाई ल्याएको चाँदी जस्तोे देखिने बस्तु लगायतका विभिन्न सामानहरु बरामद गरेको छ ।
विरगञ्जबाट आउँदै गरेको रात्री बसमा भारतको पुर्वी चम्पारण ग्राम पञ्चायत नागटोल ६ घर भएका २९ बर्षिय अस्विनी सर्राफलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दराज राईले जानकारी दिए । सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैयाको कमाण्डको टोलीले सर्राफलाई नियन्त्रणमा लिई बरामद भएका बस्तु सहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ । उनको साथबाट ७ केजी २ सय ग्राम चाँदी जस्तो देखिने बस्तु बरामद भएको छ भने २ सय १९ वटा सिक्का, २० वटा मंगलसुत्र, २ प्याकेट मालाको दाना बरामद गरिएको छ । त्यस्तै ब्रासलेट २२ वटा, चुरा ८ जोर अर्थात १६ वटा, पाउजु ४४ जोर, विभिन्न साईजको सिक्री ८४ वटा र गिलास ३ वटा बरामद भएको छ ।









