2026 April 27/ 03:31: 47am

मेलामा चर्चित लेखकहरुको जमघट
    बनेपा/न्यू प्रगति पुस्तक भण्डार बनेपामा चलिरहेको प्रगति वाङमय पुस्तक मेलामा हिजो बुधबार चर्चित लेखक सुविन भट्टराईको सहभागिता रह्यो । यस अघि विभिन्न पुस्तकका लेखकहरु सहभागि मेलामा बुधबार भट्टराईको सहभागिता रहेको हो । 
    सुविनले साया, समर लव, इजीरिया जस्ता चर्चित पुस्तकहरु लेखेका छन् । पुस्तकका पारखीहरुले सुविन भट्टराईसँग साक्षात्कार गरेका थिए । मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेका छन् । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बसन्त नेपाल तथा अन्य पदाधिकारीहरुले पनि मेलाको अवलोकन गरेका छन् । 
    मेलाको शुभारम्भ शुक्रबार भएको थियो । बरिष्ठ साहित्यकार मोहन दुवाल लगायतले उक्त मेलामा सहभागिता जनाएका छन् ।  मेलाको उद्घाटन लेखक तथा प्राज्ञ अमर न्यौपानेले गरेका थिए । काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक वाङमय पुस्तक मेलाको आयोजना गरिएको छ । प्रगति पुस्तक भण्डार बनेपाले नजिकिँदै गरेको चाड लक्षित गरी वाङमय पुस्तक मेलाको आयोजना गरिएको हो । पुस्तक मेलाबाट नेपालको चर्चित लेखकहरुका साहित्यिक कृतिहरू, विश्व साहित्य, विभिन्न ज्ञानका अति महत्वपुर्ण पुस्तकहरु र धार्मिक आस्थाका पुस्तकहरू पाइने छन् ।
    मेलामा अवलोकन गरी आफूलाई मनपर्ने विधाका पुस्तक सहजै प्राप्त गरी लाभ लिन सकिने प्रगति पुस्तक भण्डार बनेपाका सञ्चालक भुवन मानन्धरले जानकारी दिए । यो किसिमको कार्यक्रम निरन्तर गर्ने पनि बताएका छन् । पुस्तक मेलामा पुस्तक किन्नेले २० प्रतिशत छुट पाउने बताउँदै उनले साहित्यको क्षेत्रमा वरिष्ठ साहित्यकार मोहन दुवालको सहयोग र समन्वयमा यो योजना आफूहरुले अघि सारेको बताए । त्यसै उपस्थित भीडलाई आफ्ना भनाईले नतमस्तक बनाई रहेका थिए यूवा लेखक तथा प्राज्ञा अमर न्यौपाने । उनी भन्दै थिए । ढुंंगा, बन्दुक र बारुद्ले युद्ध गरेर धेरै परिवर्तन र राजनीतिक आन्दोलनहरु भएको विश्व इतिहासमा नेपाल पनि जीवित इतिहास भोग्दै यो अवस्थामा आयो, अबको युद्ध केवल अक्षरले मात्रै संभव छ, हामीले अरु विकसित मुलुकहरुमा देखेका छौँ आज टोल टोल र अनि घर घरमा पुस्तका लाइब्रेरीहरु बनेका छन् । विद्यार्थीहरु उनीहरुले चाहेका र राम्रा किताबहरु छानेर पढ्न सक्छन् तर नेपालमा संघीयता आइसके पनि विकेन्द्रिकृत शासन प्रणाली लागु भए पनि पुस्तक पढ्ने पढाउने भन्ने बित्तिकै केवल स्कुलका रेकर्र्डर जस्ता किताब मात्रै सम्झन्छन् त्यो हुनु भनेको शिक्षक केवल रेकर्डरजस्ता भए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ साहित्यकार जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले आफूले विगत देखि नै लेख्ने र ज्ञान बाँढ्ने कुरामा कसैसँग पनि नझुकेको बताउँदै स्थानीय सरकारले लेखकहरुको संरक्षण गर्न नसकेकाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले लेखकहरुका संरक्षण समद्र्धन गर्ने मामलामा कहिल्यै पनि स्थानीय सरकारले चासो नदिएको र यो निरन्तर कायम रहिरहे भावी पुस्तामा लेखन र पठन संस्कृति कमजोर हुने औँल्याएका छन् । उनले लेखन र पठन संस्कृति कमजोर हुँदा सबै क्षेत्रमा त्यसको व्यापक प्रभाव र असर देखिँदै जाने र कलान्तरमा अक्षरको युद्धमा नेपाल र नेपाली कमजोर हुनसक्ने तर्फ सचेत रहनुपर्ने तर्क गरेका छन् ।