2026 April 27/ 03:30: 44am

विकास तिमल्सिना/चौरीदेउराली
    चौरीदेउराली गाउँपालिकामा रहेका विद्यालयमा सबैको पहुँच पुग्ने गरी समावेशी हात धुने स्थान निर्माण थालिएको छ । भविष्यका लागि आधार परियोजना अन्तर्गत सिविक फोरमको साझेदारी, वाटर एड नेपालको सहयोग र चौरीदेउराली गाउँपालिकाको समन्वयमा समावेशी हात धुने स्थान निर्माण गरिएको हो । 
    असोज २१ गते आइतबार एकै दिन चौरीदेउराली गाउँपालिका–८ मा रहेको श्री देउराली माध्यामिक विद्यालय र बच्छेश्वर आधारभुत विद्यालयमा निर्माणसम्पन्न भएको धारा विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाँई, सिविक फोरमका अध्यक्ष झलक दर्लामी, प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवर, परियोजना संयोजक सान्त्वना कार्की, जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिको सहभागीता रहेको थियो । परियोजना अन्तर्गत पालिकाका २ विद्यालयमा समावेशी हात धुने स्थान निर्माण सम्पन्न भएको छ भने ४ वटा विद्यालयमा निर्माण कार्य भइरहेको परियोजना संयोजक कार्कीले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ७ मा रहेको सिर्जनशिल मावि र वडा नम्बर २ स्थित खाडादेवी माविमा आकाशे पानी संकलनका लागि संरचना निर्माण गर्ने अर्को महत्वपुर्ण योजना रहेको छ । यस्तै ग्राम विकास आधारभुत विद्यालयमा समावेशी शौचालय निर्माणका लागि सम्झौता भइसकेको छ । तीन तारा प्राप्त विद्यालयले प्रमाणपत्र वितरण कार्य समेत  छिट्टै नै हुँदै छ । चौरीदेउराली गाउँपालिकामा रहेका ३३ विद्यालय मध्ये हालसम्म ३ वटा विद्यालयले तीनतारा प्राप्त गर्ने चरण पुरा गरेका छन । भविष्यका लागि आधार परियोजना अन्तर्गत सिविक फोरमको साझेदारी, वाटर एड नेपालको सहयोगमा सचेतनाका कार्यक्रम समेत निरन्तर भइरहेको छ । 
    निर्माण भएका संरचनाको दिगोपनाका लागि तालिम, मर्मत सामाग्री समेत सस्थाले उपलब्ध गराउँदै आएको छ । हात धुने दिवस, शौचालय दिवस, खानेपानी दिवस लगायतका दिवसीय कार्यक्रम सरोकारवालाको उपस्थितिमा जनचेतनामुलक कार्यक्रम सहित मनाइदै आइएको छ । यसअघि कोरोना महामारीमा समेत संस्थाले पालिकाभित्र रहेका सबै विद्यालयमा असथाई हात धुने स्थान निर्माण गरेको थियो । गाउँपालिका अध्यक्ष रेणुका चौलागाँईले सिविक फोरमले गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण काम गरेको भन्दै प्रसंसा गर्नुभएको छ । झण्डै ३ वर्षदेखी निरन्तर कार्यक्रम गरिरहेको भन्दै उहाँले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य तथा सरसफाई क्षेत्रमा गाउँपालिकाले प्राप्त गरेको उपलब्धीमा सिविक फोरमको उल्लेख्य योगदान रहेको उहाँको भनाई थियो । पालिकाको सिमित स्रोतबाट धेरै काम गर्न असम्भव रहेको उल्लेख गर्दै पालिका अध्यक्ष चौलागाँईले सामाजिक संस्थाको सहयोग जरुरी रहेको बताउनुभएको छ । कोरोना महामारीबाट धेरै क्षति हुनु दुःखद भएपनि सरसफाइको महत्वबारे शिक्षा दिएको उहाँको धारणा थियो । अधिकांश सरुवा रोग सरसफाइमा ध्यान नदिँदा हुने गरेको भन्दै उहाँले यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको  छ । 
    सबै उमेर समुहका विद्यार्थीले सहजै प्रयोग गर्न सक्ने समावेशी हात धुने स्थान सबै विद्यालयमा निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । हात धुन सिकाउने विषय सुन्दा सामान्य भएपनि स्वास्थ्यका दृष्टिकोणले महत्वपुर्ण रहेको अधयक्ष चौलागाँईले बताउनुभयो । यस्तै प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले निर्माण सम्पन्न संरचनाको दिगोपनामा जोड दिनुभएको छ । मर्मत संभार कोष स्थापना गरेर संरचनाको संरक्षणमा ध्यान दिन उहाँको आग्रह छ । सिविक फोरमका अध्यक्ष झलक दर्लामीले रोग सर्नमा वातावरण, रोगको किटाणु, र किटाणु रहने स्थानको भूमिका रहने बताउनुभयो । खानेपानीबाट ८० प्रतिशत रोग सर्ने जानकारी दिनुहुँदै उहाँले रोगबाट बच्न सरसफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा एकजनालाई १५ सय लिटर पानी आवश्यक पर्छ । विकट क्षेत्र मानिने चौरीदेउराली गाउँपालिकामा भविष्यका लागि आधार परियोजना अन्तर्गत सिविक फोरमको साझेदारी, वाटर एड नेपालको सहयोग र चौरीदेउराली गाउँपालिकाको समन्वयमा सञ्चालित कार्यक्रमको प्रभावकारीता बढ्दै गएको छ । सञ्चालित कार्यक्रमलार्य पालिकाले समेत आत्मसात गर्दै केहि कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख गरिसकेको छ ।