पलाञ्चोक/विजयादशमी नजिकिदै जाँदा शक्ति पिठहरुमा सरसफाई शुरु गरिएको छ । चार भगवती मध्येको एक प्रमुख पलाञ्चोक भगवती मन्दिरमा विजया दशमीका अवसरमा भक्तालुहरुको भिड हुने गरेको छ । हरेक वर्ष राष्ट्र प्रमुखले पलाञ्चोक भगवतिको दर्शन गरेर पलाञ्चोक भगवती मन्दिरको महिमा र गरिमालाई बढाउनु भएको स्थानीयको भनाई छ ।
असोज २८ गते घटस्थापनाबाट उक्त मन्दिरमा भक्तालुहरुको भिड लाग्ने गरेको छ । वडा दशै लक्षित बृह्त सरसफाई कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष रामकाजी श्रेष्ठले बताए । पाँचखाल नगरपालिका वडा नम्वर ९ मा रहेको पलाञ्चोक भगवती मन्दिरको सरसफाईका लागि कालिका युवा क्लवको संयोजकत्व रहेको थियो । सोहि अवसरमा भगवती मन्दिरका अलावा भगवतीको दिदी कालिका देवि मन्दिरमा पनि सरसफाई गरिएको छ । वडा कार्यालयले समन्वय र सहजिकरण गरेको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय पलाञ्चोक, स्थानीय र वडा कार्यालयको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष प्रकाशचन्द्र श्रेष्ठका अनुसार पलाञ्चोक मन्दिर परिसर, कालिका देवि मन्दिर परिसर र देउता घर(देवक्षे) वरपर सरसफाई गरिएको छ ।
चाडपर्वको अवसरमा भक्तालुहरुलाई सहज हुने गरी आवागमनको ब्यवस्थापन तथा नियमित सरसफाईको ब्यवस्था गरिएको वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।









