2026 April 27/ 03:30: 44am

बनेपा/बनेपा नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । चाडपर्वको अवसरमा बजारमा हुन सक्ने कृत्रिम मुल्य बृद्धी तथा अखाद्य बस्तुहरुको विक्री वितरण नियन्त्रण गर्ने उदेश्यले नगरपालिकाले बजार अनुगमन गरेको हो । 
    ‘चाडपर्व लक्षित बजार अनुगमनमा विशेषगरी उपभोक्ताहरुको स्वास्थ्य तथा बजारमा हुन सक्ने अनियमित गतिविधि नियन्त्रणका लागि हो’–उपप्रमुख विमला सापकोटाले भनिन–‘बजार अनुगमन नियमित हुनेछ । भईरहेको छ । चाडपर्वको अवसर पारेर हुन सक्ने अखाद्य तथा म्याद नाघेका खाद्य बस्तुहरु विक्री वितरण हुन सक्ने र कृत्रिम अभाव तथा मुल्य बृद्धी गर्न सक्ने भएकाले अनुगमनलाई प्रभावकारी पारिएको हो । दशैसम्म नियमित बजार अनुमगन हुनेछ ।’ प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले उपभोक्ताहरुको हितलाई ध्यान दिदै बजार क्षेत्र तथा वडा स्तरमा रहेका पसल, होटल तथा विभिन्न क्षेत्रका ब्यवसायको अनुगमन गरिने बताए । 
    अनुगमनका क्रममा तरकारी, खाद्य तथा किराना पसल, मासु, मसला पसल र होटलहरुको अनुगमन गरिएको थियो । एकै दिन बनेपामा रहेका एक सय भन्दा धेरै पसलहरुको अनुगमन गरिएको नगरपालिका अधिकृत ध्रुर्वराज नेपालले जानकारी दिए । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत परशुराम थापा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य, काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, प्रहरी तथा उपभोक्ताका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए । यस अघि जिल्लाका विभिन्न पालिकामा बजार अनुगमन भएको छ । बनेपामा अनुगमनका क्रममा म्याद नाघेका, कुहिएका खाद्य बस्तुहरु फेला परेका थिए । त्यस्ता बस्तुहरु जफत गरी नस्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यले जानकारी दिए ।