2026 April 27/ 01:30: 26am

    बनेपा/नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ वागमति प्रदेशको तेस्रो अधिवेशनले रविन्द्र बैदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न भएको महासंघको अधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा चितवनका रुद्रहरि भण्डारी, उपाध्यक्षमा विरेन्द्र डिसी क्षेत्री, महासचिवमा सिन्धुलीका कृष्णप्रसाद कालाखेती, सचिवमा नुवाकोटका प्रेमलाल श्रेष्ठ र कोषाध्यक्षमा धादिङका बिमल तामाङलाई निर्वाचित गरेको छ । 
    समितिको सदस्यहरुमा धादिङका चन्द्रवहादुर मुक्तान, दिपक सुवाल चितवनका बालकृष्ण आलेमगर, देवीप्रसाद कँडेल, काभ्रेका गणेश थापा र प्रेमवहादुर तामाङ निर्वाचित हुनुभएको छ । अधिवेशनको वागमति प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले वनपैदावर व्यवासायीका समस्या समाधानको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा वन पैदावर उद्योग व्यवसायी महासंघ बागमती प्रदेशका नवनिर्वाचित अध्यक्ष रविन्द्र बैदारले देशको झण्डै आधा भुभाग ओगटेको वन क्षेत्रलाई राज्यले व्यवस्थित गर्न नसकेको बताउनुभयो । उद्योगीहरु बदलिँदो प्रविधि अनुसार रुपान्तरिक हुन नसकेको बताउँदै अध्यक्ष बैदारले व्यवसायीलाई राज्यले सघाउनुपर्ने माग गर्नुभएको छ । अध्यक्ष बैदारले उद्योगीलाई काम गर्नका लागि सहज बातावरण बनाउन, औजार उपकरणमा अनुदानको व्यवस्था गर्न, कानुनमा अष्पष्ट रहेका विषयलाई स्पष्ट पार्न माग गर्नुभयो । उहाँले वन पैदावर क्षेत्रलाई व्यवस्थि तगर्न सके रोजगारी सिर्जनामा ठुलो मदत पुग्ने बताउनुभएको छ । काभ्रे जिल्लामा मात्रै २० हजारले रोजगारी पाइरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रकाश रायमाझी, सामुदायिक वन उपभोक्ता महासंघ वागमती प्रदेश अध्यक्ष विनोद सापकोटा, विभिन्न जिल्लाका जिल्ला वन अधिकृत, वन पैदावर व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।