धुलिखेल/धुलिखेल कल्याणकारी सेवा समाजको आठौँ बार्षिक साधारण सभा धुलिखेल नगरपालिका वडा नम्वर ७ का अध्यक्ष रोमीप्रसाद व्याञ्जूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ब्याञ्जुले धुलिखेल नगरपालिका क्षेत्र भित्र बसोबास गर्दै आउनु भएका परिवारले सञ्चालन गरेको गुठीको एउटा सदस्य आफू पनि भए जस्तो भान भएको बताए । जस्तो सुकै परिस्थितिमा पनि उक्त संस्थाका अधिकांश कार्यक्रममा सहभागी हुँदै आएको र संस्थाको उद्देश्य र लक्ष्य राम्रो भएकाले आवश्यक सहयोग गर्न आफू तयार रहेको ब्याञ्जुले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गायत्रीरमण घिमिरेले संस्थाको मूल उद्देश्य गुठी परिवारमा दुःख सुखमा साथ र सहयोग गर्नुका साथै एकजुट भएर अघि बढ्न र विकास निमार्णमा समेत साथ सहयोग होस भन्ने उद्देश्य रहेको बताए । देशका विभिन्न क्षेत्रबाट धुलिखेलमा आई बसोबास गर्ने क्रममा परि आएको मृत्यु संस्कार देखि विविध विषयलाई लिई यो संस्था ८ वर्ष अघि स्थापन गरी समाजको हितमा विभिन्न समयमा स्वास्थ्य शिविर, द्यौसी भैलो कार्यक्रम, मृत्यु संस्कार, सामाजिक भाईचारा सम्बन्धको विकास लगायतका काम गर्दै आएको जानकारी गराए ।
संस्थाका सचिव भगवती तिमल्सिनाले परिवारमा सबै सदस्यहरु एक आपसमा मिलेर बस्नु जस्तै सामाजिक रुपमा आफ्ना परम्परागत गतिविधि सञ्चालन गर्नु पनि त्यत्तिकै अपरिहार्य विषयवस्तु भएको र सातौँ वार्षिक साधारण सभाले निर्दिष्ट गरेका नीति तथा कार्यक्रम भित्र रही यस कार्यसमितिले गरेका कार्यक्रमहरु र गतिविधिबारे भए गरेका उपलब्धि, चुनौती र भावी कार्यक्रमका बारेमा सभा समक्ष नीतिगत निर्माणार्थ पेश गरेकी थिइन् ।
परिवार–परिवार मिलेर गरिने सामूहिक गतिविधिमा संलग्न हाम्रो ७५ परिवारका करिब ४ सय २ जना व्यक्तिहरु संलग्न रहेका छौं । यो संस्थामा आवद्ध परिवारमा गुठीका सदस्यभित्र मृत्यु हुँदा घाट देखि घरसम्म संस्थाको नियमअनुसार बिचरा स्वरुप एकमुष्ट २५ हजार नगद सहित भेट्न जाने, धार्मिक सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिई बालबालिकालाई समेत संस्कृतिको चिनारी सहितका देउसी भैलो कार्यक्रम,वनभोज कार्यक्रम, कला संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराइन् । धुलिखेल नगरपालिकाको सिंगो परिवारले गुठीको माग अनुसार पाठपुजा गर्ने थलो, सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने सामग्री, विद्युतीय घाटको लागि नगरपालिका तथा प्रदेश, संघकै तहबाट कार्य गर्न सहकार्यका लागि गरिएको निर्णयप्रति आभार प्रकट गर्दै आगामी दिनमा सहकार्य गरी कार्यक्रम अगाडि बढाउन नगरपालिकाकै सहकार्यमा परियोजना समेत प्रदेश सरकार समक्ष पेस गरिसकेको जानकारी गराइन् । समाजका कोषाध्यक्ष खड्ग बहादुर श्रेष्ठ (जीवन) ले आर्थिक वर्ष २०७९–२०८० को आर्थिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्दै आगामी दिनमा आर्थिक बृद्धिका लागि नयाँ कार्यक्रम तथा योजनाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष खड्गप्रसाद सापकोटाले संस्थाको काम कर्तब्यका बारेमा जानकारी गराए । त्यसैगरि संस्थाका संलाहकार प्रल्हाद प्याकुरेलले समय सापेक्ष संस्थालाई अघि बढाउन आर्थिक रुपमा सवल हुनुपर्ने र त्यसका लागि आजिवन सदस्यमा वृद्धि गरी कोष वृद्धि गरी थप कार्यक्रमहरु गर्नुपर्ने विषयमा प्रकाश पारेका थिए । सभा समक्ष प्रस्तुत गरेका वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि घनीभूत छलफल भै सदस्यहरुबाट उठेका प्रश्नको अध्यक्ष, सल्लाहकार, सचिव, कोषाध्यक्ष, कार्यसमिति सदस्यहरुले प्रस्ट्याएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यसमिति सदस्य तुलसीराम रिजालले गरेका थिए ।









