धुलिखेल/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
सरोकारवालाको उपस्थितिमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका पशु विकास अधिकृत डा. निशान्त शर्मा गेलालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गेलाले चालु आर्थिक वर्षका लागि १९.५२ प्रतिशत कम बजेट प्राप्त भएको जानकारी दिनुभयो । विज्ञ केन्द्रलाई गत आर्थिक वर्ष २०७९/८० मा ८ करोड ४० लाख ४४ हजार बजेट विनियोजन भएकोमा चालु आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ७६ लाख ३६ हजार रुपैयाँ विनियोजन भएको छ । गत आर्थिक वर्षमा २५ लाख पुँजीगत तर्फ छुट्याइएकोमा चालु आर्थिक वर्षमा ९३ प्रतिशत कम अर्थात १ लाख ७५ हजार विनियोजना भएको छ ।
यस्तै चालु तर्फ १८.०२ प्रतिशत, संघीय सशर्तमा २.८ प्रतिशत कम बजेट प्राप्त भएको छ । चालु आर्थिक वर्षमा पशुपंक्षी तथा मत्स्य उपचारमा प्रयोग हुने औषधी खरिद, पशुपंक्षी तथा मत्स्य विकासका लागि वीउ पूँजी परिचालन, मत्स्यपालन क्षेत्र विस्तार तथा उत्पादकत्व वृद्धि कार्यक्रम, पशुपंक्षी रोग सर्भिलेन्स तथा नमुना संकलन तथा परीक्षण, बाख्रा प्रवद्र्धन कार्यक्रम, बर्ड फ्लु रोग नियन्त्रण कार्यक्रम, गाईभैुंसी, बंगुरपालन प्रर्वन कार्यक्रम सञ्चालन हुने पशु विकास अधिकृत गेलाले बताउनुभएको छ । यस्तै आहाराको पौष्टिक गुण सुधार तथा अभिवृद्धि कार्यक्रम, दुधको गुणस्तर वृद्धि कार्यक्रम, पशु आहारा आत्मनिर्भर कार्यक्रम पनि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा सञ्चालन गर्नेछ ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले सरोकारवालाको उपस्थितिमा कार्यक्रम सार्वजनिक गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । बीच बाटोबाट गएको चिटको आधारमा आउने बजेटलाई काभ्रेमा कार्यान्वयन नगर्ने समेत उहाँले घोषणा गर्नुभएको छ । माग, आवश्यकता र सम्भाव्यताको आधारमा सबैको छलफलबाट कार्यक्रम तय गर्नुपर्ने उहाँको धारणा छ । यस्तै नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले आवश्यकताका आधारमा कार्यक्रम तय गर्न आग्रह गर्नुभएको छ । कुनै स्थानीय तहमा एउटा पनि कार्यक्रम नपर्ने कतै धेरै कार्यक्रम पर्ने भेदभावपूर्ण व्यवहार मान्य नहुने उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सार्वजनिक भएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । कार्यक्रम जतिनै महत्वपूर्ण भएपनि कार्यान्वयन हुन सकेन भने त्यसको कुनै अर्थ नरहने उहाँको धारणा थियो । किसानको घर–घरमा पुग्ने कार्यक्रम भएकाले किसान, स्थानीय सरकार प्रदेश सरकारबीचको समन्वयमा समयमै काम सम्पन्न गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी र्शाले बताउनुभयो । कार्यालय भेटेरिनरी अूपताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको कार्यालय प्रमुख डा. सृजा वाग्ले कृषि यान्त्रिकरण प्रवद्र्धन कार्यक्रम, असल अभ्यास प्रवद्र्धन कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि यथावत राखिएको जानकारी दिनुभयो । उहाँले पशुपालनको क्षेत्रमा सबै कृषकलाई समेट्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन मोडालिटीबारे स्विकृत कार्यविधि प्राप्त भइनसकेको भन्दै डा. वाग्लेले कार्यविधि प्राप्त हुनासाथ कार्यक्रम कार्यान्वय सुरु गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा डा. सविता ज्ञवलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उद्धवप्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उपचार सेवा, परामर्श सेवा, पशुपंक्षी रोग सर्भिलेन्स, संक्रामक रोग विरुद्धको खोप कार्यक्रम, कृतिम गर्भाधान, कृषक क्षमता विकास तालिम, पशुपालनमा असल अभ्यास प्रवद्र्धनात्मक कार्यक्रम, पशु आहारा व्यवस्थापन कार्यक्रम लगायतका अन्य प्राविधिक सेवाका कार्यक्रम गर्दै आइरहेको छ ।









