2026 April 27/ 01:29: 07am

पनौती/लायन्स क्लव अफ काभ्रे फुलचोकी, पनौती नगरपालिकाको आयोजना तथा काठमाडौ मेडिकल कलेज सिनामंगल, काठमाडौको प्राविधिक सहयोग र पनौती नगरपालिका वडा नम्वर २ को सह आयोजनामा पनौती वडा नम्वर १ र ३, लायन्स क्लव अफ पनौती, लायन्स क्लव अफ मल्पीको सहकार्यमा पनौती नगरपालिका वडा नम्वर १, २ र ३ का स्थानीयहरुका लागि वृहत्त निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरबाट ३ सय लाभान्वित भएका छन् । 
    कुशादेवी माविमा आयोजित शिविरमा जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया तथा सर्जरी, हार्डजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त रोग, इ.सी.जी.सेवा, भिडियो एकसरे सेवा र ल्याब सेवा उपलब्ध गराईएको लायन्स क्लव अफ काभ्रे फुलचोकीका संस्थापक अध्यक्ष चन्द्र हुमागाईले जानकारी दिए । ‘शिविर पछि कुशादेवी सडकमा यात्रु प्रतिक्षालय तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रम गरिने छ’–संस्थापक अध्यक्ष चन्द्र हुमागाईले भने–‘शिविरमा सहभागि भएका ३ सय मध्ये केहिलाई जटिल प्रकारका रोगको लक्षण देखिएको छ । उक्त विरामीहरु काठमाडौ मेडिकल कलेजमा उपचार गराएको अवस्थामा सेवामा सहुलियत गरिने सम्झौता गरिएको छ ।’ 
    शिविरको उद्घाटन पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले गरेका थिए । पनौती नगरपालिकाका विभिन्न वडामा विभिन्न संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविर तथा नगरबासीहरुको हितका लागि विभिन्न कार्यहरु गरिरहेको नगर प्रमुख भण्डारीले बताए । कार्यक्रममा उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्ष पुरुषोतम अधिकारी, लायन्स क्लव नेपाल ३२५ जीका डिस्ट्रिक गर्भनर दिपककृष्ण प्रजापति, निवर्ततमान गर्भनर उत्तम झा, विद्यालयका प्रिन्सिपल श्यामप्रसाद भुजु, लायन्स क्लव अफ मल्पीका अध्यक्ष सरस्वती कँडेल, पनौतीका अध्यक्ष रजेन पसँक्षे लगायतको सहभागिता थियो । कार्यक्रममा स्थानीय प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।