बनेपा/बनेपामा रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक वर्षको अन्त्यसम्ममा सामाजिक उत्तरदायित्व लगायतका कृयाकलापको जिम्मेवारी पूरा गरी कुल खर्च कटाएर ७७ लाख ९० हजार १ सय २० रुपैया खुद मुनाफा गरेको छ । अध्यक्ष दिनेशराज कायस्थको अध्यक्षतामा बसेको १४ औ साधारण सभामा संस्थाले गरेका विविध गतिविधिहरुका बारेमा जानकारी गराईएको थियो ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतमा सम्पन्न सभामा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष एवं संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार सुरकृष्ण बैद्य, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले आभाष साकोसले शेयर सदस्यहरुका लागि प्रदान गरिरहेका विभिन्न सेवा सुविधाका अलावा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु प्रभावकारी रहेको बताएका थिए । संस्थाले मंसिर १४ गते संस्थाको स्थापना दिवस तथा बैशाख १ गते जन्मने पहिलो सन्तान छोरीलाई नगद सहयोग गर्दै आएको छ भने शेयर सदस्यको निधन भएमा, गम्भिर प्रकृतिको रोग लागि उपचार गर्नु परेमा तथा विपत्तीमा सहयोग गर्ने गरी खडा गरिएको कोषबाट राहत रकम उपलब्ध गराउँदै आएको छ । शेयर सदस्यहरुलाई प्रदान गरिएको सिपमुलक तालिम र त्यसबाट उत्पादित सामाग्रीहरुको बजारीकरणमा सहयोग पु¥याएको छ । सभाको अवसरमा शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रर्दशनी गरिएको थियो ।
स्वास्थ्य शिविर, खुल्ला रक्तदान, जेष्ठ सदस्यहरुका लागि तिर्थाटन तथा अन्य रोगहरुको पहिचान गराउँदै आएको सहकारीले सहकारीमा आउन सक्ने संकट तथा शेयर सदस्यहरुको बचत रकमको जोखिम न्यूनीकरण गर्न जोखिम ब्यहोर्ने कोष खडा गरेको छ । कोषमा आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ८० लाख ३५ हजार ४ सय ९६ रुपैया जम्मा भएको छ । त्यस्तै जगेडा कोषमा २ करोड ३० लाख ३१ हजार रुपैया जम्मा गरिएको छ भने स्थिर सम्पत्ति पनि बृद्धि भएको छ । शेयर सदस्य केन्दित सहकारी भएकाले सदस्यहरुको विश्वास र सहकारीले लिएको पारदर्शिताको नीतिका कारण शेयर सदस्यहरुलाई उपलब्ध गराउन सकिने सुविधाहरुलाई क्रमशः विस्तार गर्दै लग्न सकिएको प्रमुख प्रवन्धक सुवास बैद्यले जानकारी दिए । संस्थाका सचिव प्रकाश कायस्थले सहकारीले गर्न सक्ने धेरै कार्यहरुलाई प्राथमिकीकरण गरी आगामी दिनमा बजेट सहितका कार्यक्रमहरुलाई सभाले अनुमोदन गर्ने गरी प्रस्तुत गरिएको बताए । कोषाध्यक्ष धर्मभक्त प्रधानले संस्थाले ७६ करोड ३४ लाख ९८ हजार १ सय ३९ रुपैयाको कारोवार बताउँदै ३ करोड ८१ लाख ३१ हजार २ सय शेयर पुँजी, ६० करोड ७२ लाख ६९ हजार बचत र ५९ करोड २९ लाख १ हजार रुपैया ऋण लगानी गरिएको बताए । लेखा सुपरिवेक्षण समितिका संयोजक विकास बैद्यले संस्थाले लिएको लेखा नीति र कार्यक्रम प्रभावकारी भएकाले अझै सुधार गर्दै लैजान सुझाव दिएका थिए ।
संस्थाका उपाध्यक्ष ग्रुबेन तौजलेले संस्थाका आगामी कार्यक्रमका बारेमा जानकारी दिदै शेयर सदस्यको हित बाहेक कुनै पनि कार्यमा ध्यान नदिएको बताए । सहकारीले एक वर्ष भरी कारोवार गरिरहेका विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेको थियो भने शेयर सदस्यका छोराछोरीहरु एसईई परीक्षामा उत्कृष्ट भएकाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको थियो । उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको सभामा शेयर सदस्यहरुले दिएको सुझावलाई कार्यान्वयन गर्दै चालु वर्षका लागि ८२ करोड २४ लाखको बजेट र योजना पास गरिएको थियो । संस्थामा ५ हजार ८ सय ३२ जना शेयर सदस्य आवद्ध छन् । बाल बचत मार्फत बालबालिकाहरुलाई बचत गर्न सिकाउने बानीको अभ्यास गरिएको छ ।









