बनेपा/समुदायमा जेसीज २०२३ को समापन गरिएको छ । काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको आयोजनामा भदौ १ गतेबाट शुरु भएको समुदाय जेसीज कार्यक्रमको शनिबार अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिभा प्रर्दशनी आयोजना गरी समापन गरिएको हो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतमा उक्त कार्यक्रम समापन गरिएको हो ।
प्रतिभा प्रर्दशनी कार्यक्रममा २५ वटा प्रस्तुती गरिएको थियो । अपाङ्गता भएका ब्यक्तिहरुले गरेको प्रतिभा सहितको प्रर्दशनी पछि मन्तब्य राख्दै जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले समुदायमा हरेक ब्यक्तिहरुको सम्मान, सहभागिता र अवसर उत्तिक्कै हुनु पर्ने औल्याए । अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिभाले समुदायमा लुकेर बसेका तर अवसर नपाएका ब्यक्तिहरुको पहिचान र तिनिहरुको प्रतिभालाई आय–आर्जनसँग जोडेर जीवनयापनमा सहज बनाउन सकिने समन्वय प्रमुख गौतमले बताए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले नगरपालिका भित्र रहेका यस्ता प्रतिभाहरुको खोजी गरी उनिहरुलाई अवसर प्रदान गर्न तथा उनिहरुका समस्यालाई स्थानीय सरकारको तर्फबाट सम्बोधन गर्ने बताए । समुदायमा जेसीज कार्यक्रमले समुदायमा भएका थुप्रै प्रतिभाहरुको पहिचान गर्न सहज भएको तथा अवसर उपलब्ध गराएकाले यसको निरन्तरताका लागि नगर प्रमुख शाक्यले अनुरोध गरे ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले जेसीजले लिएको उद्देश्यलाई समुदायमा जेसीज अभियानले पूरा गरेको बताए । देशभर जेसीजका विभिन्न शाखाहरुले आयोजना गरेको रचनात्मक कृयाकलापका कारण ब्यक्तिको ब्यक्तित्व मात्रै नभई समाजकै नेतृत्व तथा सामुदायिक विकासका लागि सहयोग पुगेको अध्यक्ष मानन्धरले बताए । कार्यक्रममा जेसीजका केन्द्रिय पदाधिकारीहरु, विभिन्न शाखाका पदाधिकारीहरु, काभ्रे जेसीजका अध्यक्ष सुमित मानन्धर, काभ्रे लेडी जेसीजका अध्यक्ष बुद्धलक्ष्मी मानन्धर,जुनियर जेसीजका अध्यक्ष रोजा शिल्पकार, काभ्रे जेसीजका महासचिव रिकेश सैंजु लगायतले जेसीजको अभियान र समुदायमा जेसीज कार्यक्रमको प्रभावकारिताका बारेमा जानकारी गराएका थिए । समुदायमा जेसीज कार्यक्रमका संयोजक एवं काभ्रे जेसीजका कार्यकारीणी उपाध्यक्ष विजयराम बन्जाराले समुदाय जेसीज कार्यक्रमका गतिविधीले समुदायमा युवा समुहले केहि गर्न सक्ने आत्मवल विश्वास गराएको बताए । विभिन्न निकायको समन्वयमा समुदायमा हुने विविध गतिविधिमा योगदान पु¥याउन सकिने तथा युवाहरुलाई सकारात्मक बाटोमा लैजान अभिप्रेरित गरेको संयोजक बञ्जाराले बताए । समुदायमा जेसीज कार्यक्रमले समुदायका हरेक गतिविधिमा युवाहरुलाई सहभागिता तथा जिम्मेवार बन्न प्रेरित गरेको नेशनल लेडी एकेडेमीका को–अर्डिनेटर सुनिता बादेले जानकारी दिईन् ।
के भयो समुदायमा जेसीज अभियानमा ?
काभ्रेमा भदौ १ गते देखि शुरु भएको समुदायमा जेसीज कार्यक्रमले जनप्रतिनिधि देखि बालबालिकाहरु समेत प्रत्यक्ष प्रभावित भएका छन् । बनेपा नगरपालिका जनप्रतिनिधिहरुलाई प्रभावकारी बैठक संचालन सम्वन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ७१ जना जनप्रतिनिधि सहभागि थिए । त्यस्तै विद्यालय स्तर प्रभावकारी सार्वजनिक भाषण प्रशिक्षण बनेपाको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा आयोजना गरिएको थियो । जसमा ४१ जना विद्यार्थीले सहभागिता जनाएका थिए । बनेपामा नेपालकै पुरानो कन्या पूजाका अवसरमा १० हजार भन्दा धेरै सहभागिहरुलाई निशुल्क खानेपानी उपलब्ध गराईएको छ ।
त्यस्तै बेरोजगारीको संख्या कम गराउँदै आत्मनिर्भर बनाउने अभियान स्वरुप दुई दिन क्रिस्टलको माला तथा धुप बनाउने तालिम आयोजना गरिएको थियो । जसमा ३५ जना सहभागि थिए । त्यस्तै विद्यालय स्तरीय चित्रकला प्रतियोगिता बनेपाको चण्डेश्वरी मन्दिर प्राङ्गणमा आयोजना गरिएको थियो । नगर भित्रका १४ वटा वडाबाट ४३ जना विद्यार्थीहरुले सक्रिय सहभागिता जनाएका थिए । शनिबार सोहि अभियान अन्र्तगत अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिभा प्रर्दशनी कार्यक्रम आयोजना गरिएको हो । यसको अलावा स्वास्थ्य शिविर, राष्ट्रिय भेला तथा अन्य विविध कार्यक्रम आयोजना गरिएको संयोजक बञ्जाराले जानकारी दिए ।









