पनौती/जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय भालेश्वर माध्यामिक विद्यालयले विविध कार्यक्रम सहित अभिभावक दिवस तथा सामाजिक परिक्षण सार्वजनीकिकरण गरेको छ ।
कार्यक्रममा वागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले आर्थिक वर्ष २०७९÷८० मा विद्यालयले गरेका गतिविधि जानकारी गराएका थिए । विद्यालयले ३९ करोड बराबरको गुरुयोजना बनाएर काम गरिरहेको उनले जानकारी दिएका छन । नमुना विद्यालयका लागि आवश्यक अधिकांश सुचक विद्यालयले पुरा गरेको भएपनि केहि प्रकृयागत कार्य बाँकी रहेको उनले बताए । भालेश्वर माध्यामिक विद्यालयमा हाल ८ सय ७१ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाका १२ वटै वडा, जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाका विद्यार्थीले समेत भालेश्वर माविमा अध्ययन गरिरहेको उनले बताए । इ–विडिङ मार्फत काम भइरहेको जानकारी दिँदै प्रधानाध्यापक थापाले ल्याव हाउस, लाइब्रेरी हाउस निर्माण गर्न बाँकी रहेको बताए । विद्यार्थीको अनुपातमा शिक्षक संख्या भने कम रहेको छ । करिव ९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा २१ वटा मात्रै दरबन्दी छन । विभिन्न स्रोतका सहित हाल ४४ जना शिक्षक रहेका छन । कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले कम स्रोतमा धेरै काम गर्नुपर्ने बाध्यता स्थानीय तहलाई रहेको बताएका छन । नगरपालिकाले भौतिक भन्दा सामाजिक विकासमा जोड दिइरहेको उनको भनाई थियो । कार्यक्रममा नगरपालिका उप–प्रमुख गीता बञ्जारा, निर्देशक प्रणराज न्यौपाने, शिक्षा शाखाका महेश्वर जंगम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाल लगायतले गुणस्तरीय शिक्षा प्रदानमा विद्यालयले गरेको प्रगतीको प्रसंसा गरेका छन । कार्यक्रममा सामाजिक परिक्षण सार्वजनीकिकरण समिति सदस्यसचिव दिनेश कुमार थापाले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार गत आर्थिक वर्षमा विद्यालयले शुल्क लगायत विभिन्न स्रोतबाट प्राप्त रकम मार्फत ६ करोड २५ लाख २३ हजार ४ सय ५ रुपैयाँ आम्दानी गरेको छ भने पारिश्रमिक लगायत विभिन्न शिर्षकमा ६ करोड २५ लाख २३ हजार ४ सय ५ रुपैयाँ नै खर्च भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रमम शिक्षक हरि तिमल्सिनाले सञ्चालन गरेका थिए ।









