2026 April 26/ 11:30: 21pm

बनेपा/विकासमा ढिलाई तथा अपांगता भएका बालबालिकाहरू बृद्धि विकासमा मद्दत गर्नमा सहयोग पुगोस भन्ने मुख्य उद्देश्यले पोर्टेज संस्था आयोजक र पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको सह–आयोजकमा संचालित पोर्टेज छिटो प्रतिरोधात्मक आधारभुत तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले गर्नु भएको थियो । पोर्टेज तथा पुर्नस्थापना संस्था नेपालका निर्देशक मणिराज श्रेष्ठले तालिमको उद्देश्यहरू, नेपालमा पोर्टेज कार्यक्रम संचालन र भावी कार्यक्रमका बिषयमा सहजिकरण गर्नु भएको थियो । तालिममा जापान पोर्टेज संस्थाका अध्यक्ष तथा प्रा.ना ओजी शिमिजुले जापान पोर्टेज संस्थाको संक्षिप्त परिचय, बिश्वमा पोर्टेज कार्यक्रमको शुरुवाट र संचालनको अबस्था बारेमा जानकारी गराउनु भएको थियो । 
जापान पोर्टेज संस्थाका उपाध्यक्ष एवं केन निशिनागाले दैनिक जीवन यापनमा चुनौती पूर्ण ब्यबहारको बुझाइ र प्रतिरोधात्मक तथा विकासात्मक समस्या भएका बालबालिकाहरुको निदान (पहिचन) र ती बालबालिकाहरुको लेखाजोखा बारेमा र पुर्व निर्देशक माचिको योशिकावाले पोर्टेज कार्यक्रमबाट अभिभावकहरुलाई प्रक्रियागत रुपमा सिकाइमा कसरी मद्दत गर्ने भन्ने बारे सहजिकरण गर्नु भएको थियो । 
तालिममा लुम्बिनी, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल र मण्डनदेउपुर नगरपालिकाका गरि ३१ जनाको सहभागिता रहेको थियो ।