2026 April 27/ 01:13: 37am

बनेपा/सौन्दर्यकला ब्यवसायी संघले साधारण सभा सहित तीज विशेष कार्यक्रम आयोजना गरेको छ । संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न भए लगत्तै सौन्दर्यकला ब्यवसायमा आवद्ध महिलाहरुले तीज विशेष कार्यक्रम आयोजना गरेका हुन् । 
    अध्यक्ष सुस्मा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बैद्यले महिलाहरुको शशक्तिकरण र आत्मनिर्भरता भनेकै उद्योग र उद्यमी भएकाले सौन्दर्यकला ब्यवसायलाई अझै गुणस्तरीय बनाउन सिप र ज्ञानमा ध्यान दिन अनुरोध गरे । ब्यवसायमा आएका केहि समस्याहरुलाई समाधान गर्ने, ब्यवसायीका कर तथा बैकले प्रदान गर्ने सहुलियत ऋणका बारेमा समेत महासंघले सहजीकरण गर्ने बैद्यले बताए । कार्यक्रममा संघकी केन्द्रिय अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कमला श्रेष्ठले देशभर रहेका सौन्दर्यकला ब्यवसायमा आवद्ध महिलाहरुले विदेशिन लागेको अरबौको पुँजीलाई संरक्षण गरेको बताईन् । नेपालको सिप र श्रम विदेशिनबाट रोकेको बताउँदै श्रेष्ठले विदेश जानेहरु पनि सिप सिकेर जाँदा धेरै रकम आर्जन गर्न सहज भएको श्रेष्ठले बताईन् । 
    कार्यक्रममा नेपाल पत्रकार महासघ काभ्रेका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनाले महिलाहरुको सौन्दर्य पेशालाई अझै मर्यादित र गुणस्तरीय बनाउन स्वस्थ प्रतिस्पर्धाका साथै  सिपमा दक्षता आवश्यक रहेको बताएका थिए । कार्यक्रममा अध्यक्ष सुस्मा प्रधानले संस्थाले महिलाहरुलाई शशक्तिकरण तथा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम आयोजना गरिरहेको बताईन् । विभिन्न प्रकारका सिपले महिलाहरुलाई समाजमा प्रतिस्पर्धा गर्न सहज बनाएको अध्यक्ष प्रधानले बताईन् । कार्यक्रममा जिल्लामा विभिन्न संस्थामा भएको निर्वाचन तथा नियुक्तिमा महिलाहरुले प्राप्त गरेको नेतृत्वलाई शुभकामना दिदै  सम्मान गरिएको थियो । महिलाहरुले तीजको माध्यमबाट समुदायमा भएका विभिन्न कृयाकलापको चर्चा गरेका थिए ।