2026 April 27/ 01:13: 36am

धुलिखेल/सुरक्षित आप्रवासन(सामि) कार्यक्रम पाँचौ वर्षमा प्रवेश गरेको छ । स्थानीय तह कार्यक्रम ब्यवस्थापन समितिको बैठकमा सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले कार्यक्रमका पाँच वर्ष अवधीमा भएका गतिविधि र आगामी वर्षका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । 
    धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न बैठकमा बोल्दै प्रमुख ब्याञ्जुले विदेश जान लागेका नागरिकहरुलाई आवश्यक सिप र ज्ञानको परामर्शका साथै फर्केर आएका नागरिकहरुलाई सहज वातावरण तयार गरी उनिहरुले प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई स्थानीय स्तरमा प्रयोग गरी आय आर्जन तर्फ केन्द्रित गर्न कार्यक्रम प्रभावकारी भएको बताएका थिए । बैदेशिक रोजगारका क्रममा कमाएको सम्पती अनुत्पादक क्षेत्रमा लगानी भईरहेकाले त्यसको रोकथामका लागि आवश्कयक जनचेतना फैलाउनु पर्ने प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, शाखा प्रमुखहरु, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । 
    सामी परियोजना जिल्लाका चारवटा पालिकामा कार्यन्वयन भईरहेको छ भने जिल्ला प्रशासन कार्यालयबाट बैदेशिक रोजगारमा जान राहदानी बनाउनेहरुका लागि आवश्यक परार्मश जिल्लाभरका नागरिकहरुलाई गरिरहेको छ । धुलिखेल नगरपालिकामा उक्त कार्यक्रम सिविक फोरमले संयोजन गरिरहेको छ । चालु वर्ष कार्यान्वन हुने कार्यक्रमहरुका बारेमा बैठकमा जानकारी गराईएको थियो । हरेक वर्ष बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुको संख्या बढिरहेको, बैदेशिक रोजगारका कारण समुदायमा विकृती विसंगति र विभिन्न घटनाहरु हुन थालेको सोहि अवसरमा जानकारी गराईएको थियो ।