सुत्केरीलाई एम्बुलेन्स, जेष्ठ नागरिकलाई सुरक्षा भत्ता
पनौती/सहकारीहरुमा समस्या बढिरहेको, सहकारीहरुले बचतकर्ताहरुलाई रकम फिर्ता गर्न नसकेर भागिरहेका समाचार सार्वजनिक भईरहेको पछिल्लो अवस्थामा सहकारी समुदायको अब्बल र प्रमुख आर्थिक कारोवारको विश्वासिलो संस्था रहेको नवदुर्गा सहकारीले स्थापित गरेको छ ।
जिल्लाको पनौती नगरपालिकामा केन्द्र बनाएर ८ वटा पालिकाका ८ हजार ७ सय ६० जना शेयर सदस्यहरुलाई निःशुल्क एसएमएस मोबाईल बैकिङ सेवाका साथै प्रविधि मैत्री दुईवटा आफ्नै भवनबाट २१ जना कर्मचारीहरुले ८ वटा सेवा केन्द्र र २६ ओटा बचत संकलन केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थाका अध्यक्ष ईन्द्रप्रसाद हुमागाईले संस्थाले विगतदेखि शुरु गरेका सामाजिक उत्तरदायित्वका कार्यहरुलाई समेत निरन्तरता दिएको बताए । २१ बर्ष अघि २०५९ पौष २६ गते ग्रामीण क्षेत्रमा स्थापना भएको उक्त संस्था ५ वटा बचत तथा ऋण, ३ अटा कृषि सहकारी र २ ओटा वहुउद्धेश्यीय सहकारी गरी १० वटा सहकारी विच एकीकरण गरी संचालन भईरहेको छ । नेपालमा सहकारी एकीकरण निर्देशिका २०६९ आउनु भन्दा पहिले सहकारी ऐनको अधिनमा रही एकीकरणको प्रारम्भ काभ्रेमा २०६८ श्रावण ८ गते उक्त सहकारीले गरेको थियो । सोही क्रमलाई निरन्तरता दिंदै जाने र अझै मजवुत र सहकारीको पहुँच नपुगेको क्षेत्रमा सहकारीको उपस्थिती गराउने योजना रहेको प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले बताए ।
नवदुर्गा बचत तथा ऋण सहकारी संस्था पनौती, बनेपा, धुलिखेल, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर, बेथानचोक र खानीखोलामा कृयाशिल छ । संस्थाले शेयर सदस्यहरुका लागि सुत्केरी एम्बुलेन्स खर्च ३४ जनालाई उपलब्ध गराएको छ । सदस्य तथा पारिवारीक राहात २९ जनाले पाएका छन् भने ५५ जनाले १० हजारको दरले स्वास्थ्य उपचार खर्च प्राप्त गरेका छन् । ७० बर्ष भन्दा माथिका ८८ जना जेष्ठ शेयर सदस्यहरुलाई बार्षिक पोषण खर्च स्वरुप ६ सयका दरले रकम उपलब्ध गराईएको छ । उक्त रकम शेयर सदस्यहरुको खातामा जम्मा गरिदिने ब्यवस्था गरिएको छ । कृषकहरुका लागि रासायनिक मल विक्रि वितरण, विविध सम्मान कार्यक्रमहरु गदृै आएको छ । पर्याप्त ऋण सुरक्षणका लागि धितो तथा धन जमानीमा ऋण लगानी गर्ने गरिए अनुसार ऋण सुरक्षण कोषको व्यवस्था गर्ने गरिएको कोषाध्यक्ष हरिरानायण श्रेष्ठले बताए ।
आर्थिक वर्षको अन्त्यसम्मा ८४ करोड ४७ लाख रहेको छ भने त्यस्तै शेयर पुँजी ९ करोड १५ लाख, बचत ६१ करोड ११ लाख, विभिन्न कोषहरु ६ करोड ६१ लाख, ऋण लगानी ७० करोड ६९ लाख रुपैया २ हजार २ सय ८५ सदस्यलाई लगानी गरिएको छ । संस्थाले ८ प्रतिशत देखी १६ प्रतिशत सम्मको ब्याजदरमा लगानी गरेको छ भने बैंक तथा तरलतामा १० करोड ६३ लाख रुपैया जम्मा गरेको छ । ५९ प्रतिशत महिला सदस्य रहेको नवदुर्गा साकोसले ६७ लाख ९७ हजार ३ सय ५४ रुपैया आय कर बुझाएको छ । आर्थिक कारोवार मात्र नभई जन्मदेखी मृत्यु पर्यन्त सेवा, सदस्य शिक्षा, वित्तिय साक्षरता, सदस्यहरुको नेतृत्व विकासका विविध कार्यक्रमहरु, प्रविधी साक्षरता, विविध सास्कृतीक तथा धार्मिक कार्यक्रमहरु, विभिन्न सामाजिक कार्यहरु, सरसफाई, जनचेतनामुलक कार्यक्रमहरु, बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रम, सदस्य विमाका कार्यक्रम, स्थानीय तहसँंग समन्वय गरी विकास निमार्णका कार्यहरु, उपभोक्ता समितिलाई योजना सम्पन्न गर्नका लागि आर्थिक वित्तिय सहयोग उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा सचिव अकुरप्रसाद सापकोटाले संस्थाले उपलब्ध गरेका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हरिनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रमेश राजलवटले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष हुमागाईले संस्थाले बदलिँदो परिस्थिती र परिवेशमा संस्थाका शेयर सदस्यहरुलाई आर्थिक उपार्जन हुने खालका कार्यक्रम गरिने बताए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष योगमाया आचार्य लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।









