2026 April 27/ 01:13: 39am

बनेपा/बनेपा नगरपालिका अन्तर्गत बनेपा बजार क्षेत्रमा दशैं तिहार अघि काम सुरु नगर्न व्यवसायीले माग गरेका छन । अरनिको राजमार्ग विस्तारबाट व्यवसायीक प्रभाव सम्बन्धी बनेपा नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीले उक्त माग गरेका हुन् । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंछेले दशैं तिहार पछि मात्रै बनेपा बजार क्षेत्रमा काम सुरु गर्न र धेरै जनशक्ति परिचालन गरी छिटो काम सम्पन्न गर्न आग्रह गरेका छन । राजमार्ग विस्तारकै कारण व्यवसायी पलाएन हुने अवस्था आउन दिन नहुने उनको भनाई छ । यस्तै काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले आर्थिक मन्दिका कारण व्यवसायी मारमा परेको गुनासो गर्दै चाडपर्वको समयमा व्यवसायी नलखेट्न सुझाव दिएका छन । देशकै व्यापारिक शहरको परिचय बनाएको बनेपालाई जोगाउन उनको आग्रह छ । 
राजमार्ग विस्तारसँगै लोड अनलोडको समस्या प्रमुख रुपमा देखिने भन्दै उनले आवश्यक भौतिक पुर्वाधारसहित उचित विकल्प बारे सोच्न आवश्यक रहेको बताएका छन । यस्तै उद्योगी व्यवसायीले ढलको उचित प्रबन्ध गर्न, आकाशेपुलको व्यवस्था गर्न, व्यवसायीमैत्री विकास निर्माणका काम गर्न सरोकारवालालाई आग्रह गरेका छन । कार्यक्रममा सुर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर माधव पौडेलले आयोजना बारे जानकारी गराएका थिए । उनका अनुसार उक्त आयोजना अन्तर्गत १५ प्रतिशत भौतिक प्रगती भएको छ । रुख कटान कार्य सुरु भएको छ भने विद्युत पोल हटाउनका लागि प्राधिकरणसँग समन्वय भइरहेको छ  । यहि रफ्तारमा काम भइरहे समयमै काम सम्पन्न उनको विश्वास छ । बनेपा नगरपालिका उप–प्रमुख विमला शर्माले जनतालाई आवतजावत, व्यापार व्यवसाय गर्न असहज हुनेगरी काम गर्न नहुने बताइन । सडक विस्तारसँगै आउन सक्ने चुनौती समाधानका लागि व्यवसायीसँग छलफल गरेर नगरपालिकाले उचित विकल्प खोज्ने उनले बताइन् । करिडोर निर्माण कार्य सम्पन्न गर्न सके होलसेल बजारलाई व्यवस्थित गर्न सकिने उनले बताइन् । प्राविधिक कारण करिडोर निर्माण रोकिएको भन्दै उनले यसलाई निकास दिन जरुरी रहेको बताएकी छन । यस्तै नगर प्रमुख शान्तिरत्न शाक्यले पटक–पटक भएका छलफलबाट आएको निष्कर्षलाई ख्याल गर्नुपर्ने बताए । कतिपय अवस्थामा व्यवहारिकतालाई पनि ध्यान दिनुपर्ने उनको भनाई छ । व्यवसायी, सरोकारवाला व्यक्तिसँगको छलफल गरेर नगरपालिका अगाडी बढ्ने नगर प्रमुख शाक्यले बताएका छन ।