2026 April 26/ 11:31: 38pm

    बनेपा/काभ्रेको ब्यापारीक नगरी बनेपामा आउँदो शुक्रबार र शनिबार अर्थात भाद्र २२ र २३ गते बृहत फुड फेस्टिबल, नेवारी सुकुलभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा फेस्टिबलका बारेमा जानकारी दिदै फेस्टिबल कार्यक्रमका संयोजक श्यामकुमार भालु (मुनाल) ले आर्थिक मन्दिले शिथिल ब्यवसायलाई चलायमान बनाउँदै फुडको पहिचान र ब्यवसायको प्रर्वद्धनका महत्वपूर्ण हुने बताए । 
    ‘शिष्ट ब्यवसाय निर्माण गरी ब्यस्त जीवनयापनलाई उत्कृष्ट बनाउँदै कला र संस्कृतिको जगेर्ना हुनेछ’–संयोजक श्यामकुमारले भने–‘पारिवारीक मनोरञ्जनका साथ पौराणीक परम्परागत खाना, संस्कृति तथा भेषभुषालाई प्राथमिकतामा राखी ऐतिहासिक, धार्मिक, पर्यटकिय, सामाजिक, भौतिक स्थलहरुको प्रचार प्रसार हुनेछ ।’ काभ्रे होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरीङ्ग संघको संयुक्त आयोजनामा हुने कार्यक्रममा बारेमा जानकारी दिँदै काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ्ग संघका अध्यक्ष शिवप्रसाद तिमल्सिनाले भने–‘जिल्ला भित्रका सबै पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक तथा ब्यवसायीक क्षेत्रहरुलाई समेटेर पर्यटकीय विकसाका लागि समन्वय गरिनेछ । त्यसका लागि घुम्ती कार्यक्रम फेस्टिबल आयोजना गरिनेछ ।’ स्वस्छ, सफा र हाईजेनिक परिकारहरुको सर्वसुलभ सेवा सामाजिक जमघटका लागि सर्वाेत्कृष्ट ब्यवस्थापन सहित होटल, पार्टी प्यालेस तथा क्याटरिङ्गहरुको सेवा सुविधा र अपरिहार्यता सम्बन्धी प्रर्वद्धन हुने ब्यवसायीहरुले बताएका छन् । 
    ब्यवसायी कृष्ण श्रेष्ठका अनुसार जिल्लामा आयोजना हुने फुड फेस्टिबलमा ५ हजार भन्दा धेरै ब्यक्तिहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । सुकुलभोजका लागि टिकट ब्यवस्थापन गरिएको भए पनि फुड फेस्टिबल र सांस्कृतिक कार्यक्रम खुल्ला र राति १० बजेसम्म हुनेछ । बनेपाको अरनिको पार्टी प्यालेसमा सुकुल भोज र भिमसेनस्थान मार्गमा खुल्ला फेस्टिबल आयोजना हुनेछ । अरनिको राजमार्गबाट २ मिनेटको दुरी भित्री सडकमा आयोजना गरिने कार्यक्रमका लागि विभिन्न तयारी समिति बनाईएको छ । संघमा २ सय भन्दा धेरै होटल तथा रेस्टुरेन्ट ब्यवसायी आवद्ध छन् भने ७० वटा भन्दा धेरै पार्टी प्यालेसहरु आबद्ध छन् । पछिल्लो समय पार्टी प्यालेसहरु थपिने र त्यसको गुणस्तर बृद्धि हुने क्रम बढेको छ । स्वस्थ प्रतिस्पर्धाले मात्रै गुणस्तरीयता प्रदान गर्न सकिने ब्यवसायीहरुले बताएका छन् । 
    पत्रकार सम्मेलन मार्फत आयोजकहरुले उक्त कार्यक्रममा सहभागि हुन जिल्लाबासी र आसपासका क्षेत्रका ब्यक्तिहरुलाई पनि आमन्त्रण गरेका छन् ।