2026 April 26/ 11:30: 25pm

कटुञ्जे/२०५३ सालमा स्थापना भएको कटुञ्जे प्रहरी चौकीले २७ वर्ष पछि आफ्नै पक्कि भवनबाट सेवा शुरु गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणाले बुधबार एक कार्यक्रमका बीच भवन समुद्धघाटन गर्दै भवनसँगै सेवा गुणस्तरीय र विश्वसनीय बनाउन निर्देशन दिईन् । 
    ‘प्रहरीले आफै असुविधामा बसिरहँदा पनि नागरिक प्रति उपलब्ध गराउनु पर्ने सेवामा कहिल्यै कमी र गुनासो गरेन’–डिआईजी राणाले भनिन्–‘भवन र सुविधा सम्पन्न साधन श्रोत नहुँदा त गुणस्तरीय सेवा उपलब्ध गराएको नेपाल प्रहरीले भवन र साधन श्रोत पर्याप्त उपलब्ध हुँदा सेवाको गुणस्तरमा छलाङ्ग मार्नु पर्छ ।’ अपराध न्यूनिकरण, दुर्घटना न्यूनिकरण तथा सचेतना र सचेतिकरणका कार्यक्रम निरन्तर जारी राख्न निर्देशन दिर्दै डिआईजी राणाले एकिकृत गस्ति योजना २०८० प्रकाशन पछि प्रहरीले गर्ने गस्तिको प्रोटोकल र अवस्थामा केहि परिवर्तन हुने बताईन् । स्थानीयसँगको समन्वय र सहकार्यले मात्रै प्रहरीले अपराध अनुसन्धान र न्यूनिकरणमा सफलता प्राप्त गर्ने बताउँदै राणाले सबै पक्षको उत्तिक्कै सरोकार रहनु पर्ने बताईन् । 
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले प्रहरीले बोकेको नारा सत्यम, सेवम सुरक्षणमलाई ब्यवहारत कार्यान्वयन गर्नु पर्ने बताए । । ‘प्रहरीले नागरिकलाई दिनु पर्ने सेवामा कमी गरेको छैन अझै सेवालाई प्रभावकारी बनाउन प्रविधि र साधन श्रोतलाई अब्बल बनाउँदै जानु पर्छ’–सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने– ‘सेवालाई अझै विशिष्ठकृत बनाउँदै लैजानु पर्ने चुनौतीलाई प्रहरीले आत्मसाथ गर्दै जानु पर्छ ।’ बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट निर्मित भवन तीन चरणमा निर्माण भएको थियो । कटुञ्जे पछि कानपुर र बनेपाको साँगामा रहेको प्रहरी चौकी निर्माणको अन्तिम चरणमा रहेकाले समुद्धाघाटन गरी सेवा प्रभाव गर्न सकिने एसपी भाग्येन्द्र पुरुष ढकालले बताए । ‘नागरिकहरुलाई शान्ति, सुरक्षा र अमनचयन गर्न प्रहरीले २०५३ साल देखि जस्ताकै टहरामा बसेर भए पनि जिम्मेवारी पुरा गरेको थियो’–एसपी ढकालले भने–‘पूर्वाधार सम्पन्न भवनबाट प्रहरीले दिने सेवा अझै प्रभावकारी हुनेछ ।’ 
    कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख एसएसपी किसन सिंह थापा, एसपी ईश्वर थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, रोशी गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष अशोककुमार गौतम लगायतले प्रहरी कार्यालयको भवनबाट गुणस्तरीय सेवा प्रभाव गर्न सहज भएको बताएका थिए । कार्यक्रममा प्रहरी चौकी निर्माणका लागि जग्गादान गर्ने जग्गादाता मानकुमारी गौतम र शिवनारायण श्रेष्ठ तथा निर्माण ब्यवसायी राहुल कन्ट्रक्सनका राहुल श्रेष्ठलाई सम्मान गरिएको थियो । प्रहरी चौकी भवन निर्माणका लागि गौतमले १ रोपनी ६ आना १ पैसा १ दाम र श्रेष्ठले १ रोपनी ४ आना ३ दाम १ पैसा जग्गा निशुल्क उपलब्ध गराएका थिए । २ रोपनी ११ आना क्षेत्रफलमा बनेको उक्त प्रहरी चौकी साढे २ तल्लाको छ । जसमा प्रहरी ब्यारेक महिला र पुरुषका लागि अलग अलग निर्माण गरिएको छ भने हिरासत पनि अलग अलग निर्माण गरिएको छ । शौृचालय, भान्सा तथा अन्य आवश्यक पूर्वाधाहरु निर्माण गरिएको बताईएको छ । उक्त भवन निर्माणका लागि विभिन्न चरणमा गरेर २ करोड २७ लाख रुपैया खर्च भएको छ । हाल रोशी गाउँपालिकाका चारवटा वडा हेर्ने जिम्मेवारी प्राप्त गरेको कटुञ्जे प्रहरी चौकी माओवादीको द्वन्द्वमा विस्थापित भई पछि पुर्नस्थापना भएको थियो ।