पनौती/पनौती आधारभुत विद्यालय(पाठशाला) मा एक दिने निशुल्क शिविर आयोजना गरिएको छ । प्रारम्भ सामाजिक संस्थाको सहयोगमा विद्यालयले आयोजना गरेको शिविरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरु र अभिभावक सहभागि थिए । शिविरको उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले गरेका थिए ।
प्रथम त्रैमासिक परीक्षा सकेर एक हप्ते बिदा दिनु पुर्व बिद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र स्वास्थ्य उपचार गर्न तथा आवश्यक सल्लाह दिने उद्देश्यले शिविर संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले बताए । जिल्लाको पुरानो विद्यालयका रुपमा चिनिएको पनौती आधारभुत पाठशालाको इतिहास, संर्घष र निरन्तरताका कथा लामो भएको बताए । ४० वर्ष देखि निरन्तर विद्यालयमा सेवा गरेर बालबालिकाहरुको शिक्षालाई गुणस्तरीय बनाउन प्रयासरत रहेको प्रधानाध्यापक ताम्राकारले बताए ।
इशान बाल अस्पतालका बालरोग सर्जन डा सिरिश सिल्वालको मेडिकल टिमद्वारा विद्यालयको शिशु कक्षा देखि ८ कक्षासम्मका १ सय ५६ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । २ सय ९५ बिद्यार्थीहरु मध्ये १ सय ५६ मा आँखा रोग, छालारोग, चोटपटक तथा घाऊ पाक्ने, पिसाब तथा किड्नी सम्बन्धी, जिब्रो तथा दन्तरोग सम्बन्धी समस्याको पहिचान भएको डा सिल्वालले बताए ।
प्रारम्भ संस्था ललितपुरका अध्यक्ष तथा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीको नेतृत्वमा संचालित शिविरका लागि अमेरिका निवासी समाजसेवी बिना बोगटीले सहजीकरण गरेकी थिईन् । अमेरिका सियाटल निवासी वोगटीको छोरि आयशा गिलले आफु अध्यनरत बिद्यालयका बिद्यार्थीको पहलमा व्यक्तिगत खर्च कटाएर केहि रकम संकलन गरि औषधी व्यवस्थापनमा सहयोग गरेकी थिईन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, विद्यालयका सहायक प्रधानाध्यापक राजन कर्माचार्य लगायतले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न बालबालिकाहरुको स्वास्थ्य मजबुत बनाउन शिविर महत्वपूर्ण हुने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









