धुलिखेल/रोटरी क्लब अफ धुलिखेलले बालबालिकाहरुको शारिरीक र मानसिक स्वास्थ्यको लागि खेलकुदका समाग्रीहरु उपलब्ध गराएको छ ।
सामाग्री प्राप्त गर्ने विद्यालयहरुमा पञ्चकन्या प्राथमिक विद्यालय धुलिखेल, पूर्ण संजीवनी लङखनामाई, कालिका माध्यमिक विद्यालय, श्रीखण्डपुर प्राथमिक विद्यालय, हनुमान प्राथमिक विद्यालय, करथरी विद्यालय, देवीथान विद्यालय धुलिखेल, सेतिदेवी विद्यालय छन् । विद्यालयहरुमा ट्रयाम्पोलिन, म्यारी गो, फुटबल मिनिपोष्ट, फुटबल र जर्सी सहितका खेलकुद सामग्रीहरु उपलब्ध भएको छ । खेलकुदमा सामानले विद्यार्थीहरुलाई विद्यालय आउन उत्प्रेरित गर्नेछ । सामान्यता खेलकुदलाई शिक्षाको अभिन्न अंग मानिदैन तर विद्यार्थीको बहुआयामिक व्यत्तित्व विकासमा यसको ठूलो भुमिका हुन्छ । विद्यार्थीहरु खेल्ने सामान पाउँदा निकै खुसी छन् । स्थानीय सरकारका प्रतिनिधी, अभिभावक र समुदायको उपस्थितिमा रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष कमला श्रेष्ठ, पुर्व अध्यक्ष माणिकलाल कालु श्रेष्ठ, पुर्व अध्यक्ष अशोककुमार श्रेष्ठ र पुर्व अध्यक्ष रञ्जीव श्रेष्ठले संयुक्त रुपमा खेलकुदका सामाग्री सहयोग हस्तान्तरण गरेका थिए ।
रोटरी क्लब अफ धुलिखेलले ग्लोबल ग्रान्ट अन्तर्गत देवीटारमा स्कुल निर्माण गरि बाँकी रहेको रकमबाट खेलकुदको सामाग्री उपलब्ध गराईएको थियो । रोटरीको शैक्षिक कार्यक्रमलाई विभिन्न संस्थाको सहयोग प्राप्त भएको छ ।









