– स्टल बुकिङ्ग खुल्ला
बनेपा/‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा महोत्सव २०८० को चौथो संस्करण असोज १९ गते देखि कार्तिक ४ गतेसम्म १६ दिनसम्म हुने भएको छ ।
बनेपा ब्वाईज क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा बनेपा महोत्सवका बारेमा जानकारी दिदै अध्यक्ष महेश कर्माचार्यले महोत्सवले काभ्रेपलाञ्चोक जिल्लाको सुन्दर तथा ब्यापारीक नगरी बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आर्कषित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औधोगिक, हस्तकलालाई प्रर्वद्धन गर्ने, खेलकूदको विकास, कला, संस्कृति, घरेलु उद्योग र ब्यापारिक प्रर्वद्धन तथा प्रचारप्रसार गर्ने उदेश्यले विजयादशमी तथा शुभ दिपावलीको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको बताए । मेलामा कृषि, घरेलु सामाग्री सहित एक सय भन्दा धेरै ब्यापारीक स्टल रहनेछन् ।
महोत्सवमा बालबालिकाहरुका लागि मनोरञ्जनका लागि बालउद्यानको ब्यवस्था गरिने छ भने हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुलाई सम्मिलित गराउँदै जिल्ला भित्रका नवप्रतिभावान कलाकारहरुलाई विशेष प्राथमिकता दिईनेछ । विहानको समयमा खेलकुद प्रतियोगिता हुनेछन् भने दिउँसोको समयमा स्थानीय कलाकारहरुद्वारा सांस्कृतिक र प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछन् । साँझको समयमा राष्ट्रिय स्तरका कलाकारहरु सहभागि हुनेछन् । महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र बनेपा सम्वन्धी चित्रकला प्रतियोगिता संचालन हुनेछन् ।
महोत्सवको तयारीका लागि मेलाको संरक्षकका रुपमा मातृ संस्था विविसी रहनेछ भने ब्यवस्थापनको जिम्मा संयुक्त नेपाल मेला महोत्सव ग्रुपले गर्नेछ । महोत्सवको प्रमुख सल्लाहकारमा रामराज जोशी, मुख्य संयोजक पारसमणी कायश्थ, संघ संस्था समन्वय संयोजकमा सरोज तिमल्सिना, प्रशासन ब्यवस्थापन संयोजकमा राज तिमल्सिना, खेलकुद प्रतियोगिता संयोजकमा किशोर बरुण, भलिबल प्रतियोगिता संयोजकमा जितेन्द्र श्रेष्ठ, मार्सल आर्ट प्रतियोगितामा नरेशराज कायश्थ, फुटबलमा राजु लामा, गायनमा रविनसन श्रेष्ठ, नृत्यमा प्रताप हुमागाई संयोजक रहेका छन् ।
महोत्सवको उद्घाटन असोज १९ गते विभिन्न स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रर्दशनी, बाजागाजा, मौलिक नाच सहितको हुनेछ । महोत्सवमा सहभागि हुन आउनेहरु मध्ये जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्क सहभागिताको अवसर हुनेछ भने विद्यार्थीहरुका लागि ४० रुपैया र अन्यका लागि ६० रुपैयाको टिकट लाग्नेछ । महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । महोत्सवबाट संकलन भएको रकमले काभ्रेपलाञ्चोक जिल्लाका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागिताका लागि अवसर प्रदान गरिनेछ ।
महोत्सवका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष महेश कर्माचार्य, प्रमुख सल्लाहकार रामराज जोशी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगयातले महोत्सवलाई ब्यवस्थित र भब्य बनाउन सुझाव दिएका थिए ।









