बनेपा/बनेपा र धुलिखेलमा भएका अलग अलग घटनामा दुई युवाले ज्यान गुमाएका छन् । धुलिखेलमा बुधबार र बनेपामा मंगलबार मोटरसाईकल र ट्रक एक आपसमा ठक्कर खाँदा दुई युवाले ज्यान गुमाएका हुन् ।
वित्तिय क्षेत्रमा कार्यरत दुबै युवालाई अरनिको राजमार्गमा एकै प्रकृतिको दुर्घटनाबाट लगेको छ । बुधबार दिउँसो ३ः५०मा अरनिको राजमार्गमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा २ क २०१९ नम्बरको मिनि ट्रकले विपरित दिशाबाट आउँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक प्युठान धर्मवती गाउँपालिका – ७ घर भई दाङ राप्ती १ मा बस्ने २७ वर्षीय सुरज गिरीको घटनास्थलमै निधन भएको थियो । उनी बनेपामा लघुवित्तमा कार्यरत थिए ।
त्यसैगरी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मंगलबार अरनिको राजमार्गस्थित बनेपा १३ भैसेपाटीमा बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ट्रकमा ठोक्किएको हो ।
विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकमा मोटरसाईकल ठोक्किँदा धुलिखेल नगरपालिका ८ घर भएका २१ वर्षीय अभिषेक न्यौपाने को मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिए ।
रोशी गाउँपालिका वडा नम्वर ५ शिसाखानी घर भएका ३४ बर्षिय धर्म सिं तामाङ बनेपा स्थित विद्युत प्राधिकरण अघि रहेको पोखरीमा डुबेको अवस्थामा फेला परेका छन् । सोमबार विहान उनको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । धर्म सिंको साथमा नागरिकता, केहि नगद रहेको थियो । उनी कसरी डुबे ? प्रहरीले अनुसन्धान गरिरहेको छ ।









