धुलिखेल/धुलिखेल नगरपालिकाले डेंगी नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।
ब्यक्ति, घर, समुदाय, संघ सस्थामा डेंगी र त्यसका बारेमा सचेतना जगाउँदै अस्पताललाई तयारी अवस्थामा राख्न बैठकले अनुरोध गरेको छ । धुलिखेल अस्पताल, स्वास्थ्य कार्यालय काभ्रे, प्राथमिक स्वास्थ्य केन्द्र र आधारभुत स्वास्थ्य केन्द्रहरुले सरोकारवाला नागरिकहरुलाई डेंगीबाट बच्न र सचेत हुन अनुरोध गर्ने र त्यसका लागि हरेक घरमा पुगेर डेंगी उत्पादन गर्ने लामखुट्टेको बासस्थानलाई खोज र नस्ट गर अभियानलाई तिब्रता दिने निर्णय गरेको छ । विरामी हुनै नदिने, विरामी भएको लक्षण भएमा तत्काल परिक्षण र पहिचान गरी उपचार गर्ने र थप संक्रमण फैलन नदिने तर्फ सचेत रहने बैठकले निर्णय गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले नागरिकहरुलाई हरेक प्रकारका महामारीबाट बचाउन तथा विभिन्न रोगको उपचारका लागि स्वस्थ शहर कार्यक्रम मार्फत प्रभावकारी कार्य गरिने बताए । कोभिडको समयमा पनि धुलिखेल नेपालकै नमुना शहरका रुपमा चिनिएको थियो । कोभिड नियन्त्रणमा जस्तै नागरिकहरुले डेंगी नियन्त्रणमा पनि साथ दिन नगर प्रमुख ब्याञ्जुले अनुरोध गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाई, धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य, डा. सुरक्षा कुँवर र स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
धुलिखेलमा अघिल्लो वर्ष ९ जना संक्रमण भएकोमा यो वर्षको शुक्रबारसम्मको तथ्याङ्कमा कोहि नागरिकलाई डेंगी भएको छैन । शुन्यमा राख्न र शुन्यबाटै डेंगी भगाउन आवश्यक कार्ययोजना सहित कार्यान्वनमा जोड दिन जनप्रतिनिधि र विभागिय प्रमुखहरुले स्वास्थ्यकर्मीहरु मार्फत आम नागरिकहरुलाई अपिल गर्ने निर्णय गरेका छन् ।









