2026 April 26/ 07:54: 14pm

धुलिखेल/काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौ विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ्ग विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग विभागले विश्वविद्यालयको नीति अन्र्तगत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने निर्णय गरेको हो । 
    ‘काठमाडौ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधीमा अध्ययनका लागि निवेदन दिएका बालेन्द्र शाहलाई प्रकृयामा सहभागि भई उर्तिण भए पछि विश्वविद्यालयको रिसर्च कमिटीले फेलोसिप सहित पिएचडी अध्ययनका लागि सहमति दिने निर्णय गरेको हो’–विश्वविद्यालय सिभिल इन्जिनियरिङ विभागका प्रमुख श्यामसुन्दर खड्काले भने–‘बालेन्द्र सहित ६ जनाको आवेदन परेको थियो । दुई जना प्रकृयामा नै सहभागि भएनन् । प्रकृयामा सहभागि भएका चारजनाले पिएचडीका लागि अध्ययन गर्ने अवसर पाउने भएका छन् । बालेन्द्र बाहेक बाँकी फेलोसिपमा छैनन ।’ दुई जना डिपार्टमेन्टकै विद्यार्थी हुनुहुन्छ । एक जना बाहिरबाट भर्ना हुनु भएको छ । फ्रेबुअरी महिनाबाट शुरु भएको छनौट प्रकृया अगस्टमा सकिएको हो । विश्वविद्यालयले फेलोसिपको पत्र बझुाउन बाँकी भए पनि बालेन्द्र शाह औपचारिक रुपमा विश्वविद्यालयमा भर्नाका लागि योग्य भएको निर्णय गरिएको विभागीय प्रमुख खड्काले जानकारी दिए । 
    बालेन्द्रले पिएचडीको अध्ययन डेड वर्ष भित्र सक्नु पर्नेछ । ५ वटा कोर्ष ३ वटा सेमेस्टरमा सक्नु पर्ने विश्वविद्यालयको नियम छ । प्रति हप्ता बालेन्द्रले कम्तिमा ९ घण्टा विश्वविद्यालयमा उपस्थित भएर कक्षा लिनु पर्नेछ । रिसर्च बाहेकका उक्त विषयहरु अध्ययनका लागि बालेन्द्रले समय ब्यवस्थापन गर्ने गरी भर्ना हुन सहमत भएको विश्वविद्यालयले जानकारी दिएको छ ।