2026 April 26/ 07:38: 22pm

    पनौती/विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले जिल्लाको पनौती नगरपालिका देखि नमोबुद्धसम्म विश्व साँस्कृतिक पदयात्रा आयोजना गरिने भएको छ । असोज ६ गते विश्व शान्ति दिवसको अवसर पारेर एक दिवसीय विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो । 
    ‘विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउने, पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रर्वद्धन गर्ने, हिन्दु धर्मालम्वी र बौद्ध धर्मालम्वीहरुबीच आपसी सद्भाव विकास गर्ने, स्थानीय कला संस्कृतिको प्रर्वद्धन गर्ने उदेश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको हो’– काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले भन्नुभयो–‘जिल्ला समन्वय समिति काभ्रे र स्थानीय तहहरुको अगुवाईमा विभिन्न सामाजिक संघ संस्था, नागरिक समाज तथा सरोकारवाला क्षेत्रका ब्यक्तिहरुको सहभागितामा आगामी असोज ६ गते पनौतीबाट नमोबुद्धसम्म पदयात्रा आयोजना गरिएको छ ।’ ‘काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकास र समृद्धीका लागि जिल्लामा भएका सम्भावनाहरुको संगालो सहितको प्रोफाईल तयार गर्ने तयारीमा छौं’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले भन्नुभयो–‘सुन्दर र प्राकृतिक छटाहरुले भरिएको काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरुको संरक्षण, प्रर्वद्धन गर्दै विश्वभर चिनाउन शान्ति पदयात्रा महत्वपूर्ण हुनेछ ।’ जिल्लाका १३ वटै पालिकामा रहेका महत्वपूर्ण स्थलहरुको प्रसार प्रसारका लागि विभिन्न समयमा यस्ता पदयात्राहरु आयोजना गरिने समन्वय समिति प्रमुख दिपककुमार गौतमले बताउनु भयो । 
    काभ्रेमा जन्मिएर काठमाडौमा विभिन्न पेशा ब्यवसायमा संलग्नहरुलाई काभ्रेसँग जोड्ने, तीन तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुबै क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहलसँगै दबाब सिर्जना गर्ने, धार्मिक सर्किटको रुपमा विकास गर्ने, पनौती नमोबुद्ध डेडीकेटेड पदमार्ग (ट्रेकिङ्ग रुट) निर्माणका लागि पहल गर्न शान्ति पदयात्रा महत्वपूर्ण हुने समन्वय समिति प्रमुख गौतमले बताउनु भयो । 
    पदयात्रा पनौतीमा रहेको राजकुमार महासत्वको दरवार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इट्टे, शंखु, शंखेश्वरी र नमोबुद्ध पुग्नेछ । ९.८ किमी लामो पदयात्राका लागि साढे ३ घण्टा लाग्नेछ । पनौती र नमोबुद्धको पहिचान र परिचयलाई अझ उच्च बनाउनका लागि शान्तिका प्रतिक गौतममबुद्धको पहिलो जन्मस्थलमा शान्ति पदयात्रा आयोजना गर्न लागिएको आयोजकहरुले बताएका छन् । जिल्ला स्तरीय शान्ति पदयात्रा सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले काभ्रेपलाञ्चोक जिल्लाको विकास र समृद्धीका लागि पर्यटकीय क्षेत्रको विकास अनिवार्य भएको बताउँदै शान्ति पदयात्रामा आवश्यक सहयोग र समन्वय गर्ने बताउनु भयो । स्थानीय सरकारले पनि उक्त पदयात्रामा सहकार्यका लागि प्रतिवद्धता ब्यक्त गरेका छन् । सहभागि विभिन्न क्षेत्रका ब्यक्तिहरुले शान्ति पदयात्राले जिल्लाको नाम र उक्त क्षेत्रको प्रचार प्रसारमा थप टेवा पुग्ने भएकाले आगामी दिनमा पर्यटकहरुको सख्यामा बृद्धी हुने अपेक्षा ब्यक्त गरेका थिए ।