बनेपा/शनिवार काठमाडौबाट बनेपा आएका ४० जना साहित्य सर्जकहरूले बनेपा ४ नाला देखि पाँचखाल सम्मको ७२ औं साहित्यिक पदयात्रा सम्पन्न गरेका छन् ।
नाला बजारबाट सांस्कृतिक झाँकीसहित सुरू भएको पदयात्रीहरूको स्वागत सहितको कार्यक्रममा नाला साहित्यिक मन्चको तर्फबाट अध्यक्ष उपेन्द्र दाहाल तथा सचिव बासुदेव घिमिरेले लगायतले नालामा खादा सहित स्वागत गर्नुभएको थियो । त्यस पश्चात ब्रम्ह पार्क र चामुण्डा परिसर हुँदै बनेपा ३ ठूलोचौरमा सानो साहित्य सभा समेत भएको थियो । केही रचना वाचन तथा अनुभवहरू साटासाट गरिएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा बनेपा न पा वडा नं ३ का वडा अध्यक्ष रमेश दाहालले यस्ता साहित्यिक यात्राहरूले ठाउँ चिनारी हुनका साथै साहित्य र पर्यटनको विकास हुने र आफूले पनि वडाको तर्फबाट यस्ता कार्यक्रमहरूमा सदैव साथ र सहयोग दिने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । सहभागी साहित्य स्रष्टाहरूले न्यानो आतिथ्यताको लागि धन्यवाद ज्ञापन गरेका थिए । यस्ता पदयात्राहरूले शारीरिक स्वास्थ्य सुदृढ हुनका साथै साहित्य सुवास फैलाउँदै नयाँ नयाँ ठाउँको बारेमा सूचना पनि फैलने विश्वास ब्यक्त गरिएको थियो ।









