2026 April 26/ 07:39: 37pm

    खानीखोला/खानीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीसँगै उत्कृष्ट ठेकेदार, अपरेटर तथा ६० वर्ष नाघेका स्वयम सेविकालाई नगद सहित सम्मान गरेर विदाई गरिएको छ । 
    गाउँपालिकाले उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीसँगै आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट काम गर्ने ठेकेदार र अपरेटरलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । त्यस्तै गाउँपालिकाले आ.व. २०७९÷०८० मा उत्कृष्ट काम गरेबापत दुई कम्पनीका ठेकेदार सम्मानित भएका छन् । सम्मानित हुनेमा त्रिवेणी–कोदोखोरीया–देउराली सडक खण्डमा काम गरेका जिडिपी कन्ट्रक्सन एण्ड सप्लायर्सका व्यावसायी पेमा दोर्जे शेर्पा र ताल्ढुंगा–सक्रेदोभान सडक खण्डमा काम गरेका सुस्मा कन्ट्रक्सन एण्ड सप्लायर्सका व्यावसायी मुकुन्दप्रसाद गौतम सम्मानित भएका छन् । त्यस्तै खानीखोला गाउँपालिकाले ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंम सेविकालाई सम्मान सहित विदाई गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामपुकार यादवले सरकारले तोकिएको उमेरहद नाघेका १० जना महिला स्वास्थ्य स्वयंम सेविकालाई सम्मानजनक रुपमा विदाई गरेको बताए । 
    खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले शैक्षिक गुणस्तरमा सुधारसँगै वृद्धि होस्, उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन मिलोस र एसईईको तयारीमा रहेको विद्यार्थीमा हौसला मिलोस् भन्ने हेतुले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको बताए । उनले विज्ञान, शिक्षा, प्राविधिक जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने सुझाव दिदै सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्नेमा जोड दिए । गाउँपालिाका उपाध्यक्ष दोर्जेमान जिम्बाका अनुसार उत्कृष्ट अंक ल्याउने जनविकास माविकी प्राश्ना तिमसिल्ना, कुमारी माविका पासाङ योञ्जन र शारदा माविका सुजन वि.क.लाई सम्मान गरेका छन् । एसईईमा प्राश्नाले ३.४५ जिपिए ल्याएकी छन् । उनले गाउँपालिकाभरमै उत्कृष्ट नतिजा ल्याएकी हुन् । त्यस्तै पासाङ र सुजनले समान ३.३५ जीपीए ल्याएका छन् । खानीखोला गाउँपालिकामा ८ वटा मावि रहेको छ ।