धुलिखेल/तीन तहकै सरकारको प्राथमिकतामा नपरेको पशुपालन ब्यवसायमा संलग्न कृषकहरु दिन दिनै संकटमा पर्न थालेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा पालिकामा पछिल्ला केहि महिना भित्र करिव एक हजार भन्दा धेरै पशुको निधन भएको छ । लम्पिस्किन डिजिजका कारण गाई, गोरु, बाछा बाछी र केहि भैसीको समेत निधन भएको छ । विहिबारसम्मको तथ्याङ्कका आधारमा जिल्लामा ३० हजार ७ सय ४३ वटा पशु संक्रमित छन् । जसमध्ये गाई ३० हजार ४ सय ६४ वटा छन् भने भैसी २ सय ७९ वटा छन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा.नितेश कार्कीले भन्नुभयो– ‘प्रभावितको संख्या पनि त्यतिकै छ । ३३ हजार गाई र ३ सय ९९ वटा भैसी प्रभावित हुँदा ३२ हजार ८ सय पशुमा खोप लगाईएको छ । काभ्रेमा गाई भैसी ३ लाख छन् ।’ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले जिल्लामा फैलिएको लम्पिस्किन रोगबाट संक्रमित पशुहरुको उपचार तथा पीडित कृषकहरुका लागि विमा दावी भुक्तानीका लागि सहजिकरण गरिएको बताउनु भयो । ‘जिल्लाका १३ वटै पालिकामा फैलिएको लम्पिस्किन रोगबाट पशुहरु संक्रमित भएका छन् । पशुहरु धमाधम मर्न थालेका छन् । कृषकहरुलाई राहत प्रदान गर्न तथा बीमा गरिएका पशुहरुको भुक्तानीका लागि पहल गर्नेछौं’–समन्वय प्रमुख दिपककुमार गौतमले भन्नुभयो–‘किसानहरुलाई पशुहरुलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामुलक कार्यक्रम संचालन गर्नेछौं ।’ प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामा पशुहरुको ओसारपसारमा विशेष सर्तकता अपनाउँदै उपचार, राहात, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकायहरु सचेत हुनु पर्ने बताउनु भयो । ‘१३ वटै पालिकाका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकहरुलाई सचेत रहन अनुरोध गर्दर्छाै’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘हरेक पालिकाबाट नियमित रिपोर्टिङ्ग गर्न र थप पशुहरु मर्न नदिन खोप र सचेतनाका लागि अनुरोध गरेका छौं ।’
जिल्लाको सबैभन्दा धेरै प्रभावित पशुहरुको संख्या बनेपामा हो । चौरीदेउराली गाउँपालिकाले १० हजार रुपैयाँ तत्कालका लागि क्षतिपूर्ति दिने निर्णय गरेको छ भने धुलिखेल नगरपालिकाले बाछी खरिदका लागि साझेदारी गर्ने छलफल शुरु गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । मृत्यु भएका पशुहरुको क्षतिका लागि तीन तहकै सरकारले कुनै निर्णय गरेका छैनन् । वीमा समितिले मृत्यु भएका पशुहरुको विमा दाबी भुक्तानीका लागि आनाकानी गरिरहेका छन् । सरकारले महामारी घोषणा नगरेकाले वीमा गरेका पशुहरुको भुक्तानी सहज रुपमा दिनुपर्ने डा. नितेश कार्कीले बताउनु भयो । २०७६ सालमा भारतमा देखिएको लम्पिस्किन २०७७ साल साउन ४ गते पनौती नगरपालिकामा भैसीमा देखिएको थियो । नेपालमा सोहि वर्षको असारमा विराटनगरमा देखिएको थियो । २०७८ सालमा नेपालमा कँहि नदेखिएको भए पनि २०७९ सालमा नालामा र २०८० सालको बैशाखमा धुलिखेल २ मा उक्त रोग देखा परेको थियो । रोग देखा पर्ने वितिक्कै संक्रमण नभएका पशुहरुमा खोप लगाउन शुरु गरिएको थियो । खोप लगाईएका पशुहरुमा रोग देखिएको छैन ।









