2026 April 26/ 07:39: 37pm

    बनेपा/किशोरीहरुको ‘स्टेम’ अर्थात विज्ञान, प्रविधि, ईन्जिनियरिङ्ग र गणित विषय प्रतिको रुची प्रर्बद्धन  गर्ने उद्देश्यले ‘गल्र्स इन स्टेम’ले बनेपा नगरपालिकाको समन्वयमा हिमालय स्कुलमा दुई दिने ‘स्टेम’को परिचयात्मक कार्यशाला आयोजना गरेको छ । 
    स्टिच्टिङ वुमेन विन नामक संस्थाको फ्रि स्टेम फन्डबाट संकलित रकमबाट आयोजित कार्यक्रममा स्टेम सम्बन्धी पेशाहरुमा महिलाहरुको सहभागिता, समस्या समाधान, कोडिङ, किशोरावस्थाको स्वास्थ्य र वित्तिय साक्षरताका सन्दर्भमा सम्बन्धित विद्यार्थीको समग्र विकासमा सहयोग हुने कार्यशालाहरु राखिएका थिए । ‘डिजाइन थिन्किङ र कोडिङ सूचना तथा संचार प्रविधिको सिकाईमा निकै लाभदायी भएको छ’– आयोजक जेनिशा शाक्यले भन्नुभयो–‘छात्रछात्राहरुलाइ स्टेमको बारेमा जागरुक गराउन र स्टेममार्फत आफ्नो भविष्य बनाउन उत्प्रेरणा मिल्छ ।’ 
    दुईदिने कार्यशाला अन्तर्गत छात्रछात्राले ‘डिजाइन थिन्किङ्ग’ कार्यशालाबाट समस्याको समाधान खोज्न, नेतृत्व विकासका विभिन्न पाटाहरु र जीवनमा स्टेमको प्रयोग गर्ने तरिकाको अभ्यास गरेका छन् । विद्यार्थीहरुले रोचक तथा ज्ञानबद्र्धक रुपमा कक्षामा प्रस्तुत गर्ने तरिका र विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित विषयबाट राम्रो भविष्य बन्न सक्ने बारे पनि ज्ञान प्राप्त हुनेछ । कार्यशालाले सहभागी छात्राहरुलाई स्टेमलाई चाहिने सिप सिकाउने र व्यक्तिगत जीवनमा तथा समुदायमा आउने विभिन्न समस्याहरुको सामना गर्न सिकाउने प्रयास गरेको छ । आयोजक स्वरूप शाक्यका अनुसार छात्राहरुले आफ्ना समस्या समाधान गर्न आफुले नै भूमिका खेल्न उत्प्रेरित गराउन र यसको सुरुवात स्टेमबाट भएको छ । मौका मिले एक महिलाले पनि देश बदल्न आफ्नो योगदान दिन सक्छ ।
    बनेपामा आयोजना गरिएको दोस्रो कार्यशाला हो । गत वर्ष यस्तै कार्यशाला चैतन्य मा.वि.मा आयोजना गरिएको थियो । बनेपामा ‘स्टेम सिकाईमा छात्राहरु र स्टेम संकायमा महिलाहरु’ को अभियान सुरु भएको हो । ‘स्टेममा लैङ्गिक समानताः हाम्रो बनेपाको परिकल्पना’ नामक कार्यक्रम बनेपा नगरपालिकाको समन्वयमा अन्य विद्यालयमा पनि आयोजना गरिनेछ । बनेपाका इच्छुक युवाहरुलाई पनि कार्यक्रममा मेन्टरको रुपमा परिचालन गर्न सुरु भएको छ । यस्ता कार्यक्रमहरूले सूचना तथा संचार प्रविधि, इन्जीनियरिंग र गणितसम्बन्धी पेशाहरुमा महिलाहरूको प्रतिशतलाई बढाउने लक्ष्य राखेको आयोजकहरूको भनाई छ ।