2026 April 26/ 06:10: 14pm

    पनौती/पनौती नगरपालिका वडा नम्वर ८ का शालिकराम बञ्जारा र उनका भान्जा बसन्त थापा कोरोना महामारी अघि ब्यापार ब्यवसायमा संलग्न हुनुहुन्थ्यो । कोरोना महामारीले ब्यक्ति ब्यक्तिसँगको भेटघाट बन्द भए पछि घर फर्किएका मामा भाञ्जाको निर्णय भयो पुरानै अवस्थामा ब्यवसाय गर्न कठिन हुने निश्कर्ष पछि कृषि क्षेत्रमा होमियौं । 
    ‘१६ वर्ष ठमेलको पर्यटन ब्यवसायमा संलग्न भएँ’–बसन्त थापाले भन्नुभयो–‘कोरोनाले ब्यवसाय ठप्प भए पछि गाउँमै केहि गरौ भन्ने उदेश्यका साथ कृषि ब्यवसायमा संलग्न भयौं । मामा पनि ब्यवसायमा संलग्न हुनुहुन्थ्यो । दुबै जना बेरोजगार भए पछि सल्लाह गरेर कृषिमा संलग्न भयौं ।’ उहाँहरुले १५ लाख रुपैया लगानी गरेर १० रोपनी जमिनमा ७० वटा टनेल बनाउनु भएको छ । मध्यमार्ग कृषि सहकारीले केहि थान टनेल, एउटा ट्रयाक्टर, स्प्रे ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । शालिकराम मोवाईल पसलको ब्यापारसँगै प्लास्टिक पसलको खुद्रा र होलसेलको ब्यापार गर्नु हुन्थ्यो । यतिखेर गोलभेडाको मुल्य आकासिएको छ । २ सय रुपैया क्रेट हुँदा पनि नआत्तिएका मामा भाञ्जालाई अहिले लगानी उठ्ने कुराले खुशी बनाए पनि आफ्नो उत्पादनको मुल्य आफै तोक्न नपाउँदा दुख लाग्ने गरेको छ । ‘खेतबाटै सामान विक्री हुन्छ । खुशी हुनु स्वभाविक हो तर विडम्वना आज लगेको गोलभेडाको मुल्य पर्सि मात्रै थाहा हुन्छ’–शालिकराम बन्जाराले भन्नुभयो–‘अत्याधिक विषादीको प्रयोगका कारण उपभोक्ताको स्वास्थ्यमा पनि गम्भिर असर पुग्ने कुरालाई मध्यनजर गर्दै अर्गानिक उत्पादनका लागि जोड दिए पनि कृषक एक्लैले गर्न नसक्ने निश्कर्षमा पुगेका छौं ।’ मुल्य निर्धारण, अर्गानिक खेतिका लागि प्रोत्साहन र शित भण्डार निर्माण गर्न सके विदेशिएका युवाहरु समेत स्वदेशमै फर्किएर खेतिमा आर्कषण हुने वातावरण तयार हुने उहाँहरुले बताउनु भयो । अहिलेको ब्यवसाय निर्वाहमुखी भए पनि यसलाई विस्तार गरी नेपाललाई आवश्यक पर्ने तरकारी र खाद्यान्न नेपालमै उत्पादन गर्न सकिने उहाँहरुको विश्वास छ । यो सिजनमा एक पटक गोलभेडा टिप्दा १ लाख रुपैया एक दिनमा नै हात पार्ने कृषक पनि पनौती ८ मल्पीमा रहेका छन् । 
    मध्यमार्ग कृषि सहकारीले १ सय ६० कृषकका लागि १२ सय भन्दा धेरै टनेल उपलब्ध गराएको छ । ५० प्रतिशत अनुदानमा वितरण गरिएका टनेल भित्र अहिले लटरम्व गोलभेडा फलिरहेका छन् । केहि कृषकले काक्रो र अन्य तरकारी उत्पादन गरिरहेका छन् । ‘हामी पैसा भएर होईन, नभएर कृषक भयौं’–कृषक बसन्त थापाले भन्नुभयो–‘पैसा नभएर कृषक भएकाले मेहनत धेरै गर्छाै । थोरै थोरै आम्दानी जम्मा गरेर धेरै खेति गर्न सक्षम हुन थालेका छौं । तर खेति गर्ने वातावरण बनिरहेको छैन ।’ नेपालमै केहि गरौ भन्ने सोच भए पनि लगानी हुन नसक्दा धेरै युवाहरुले स्वदेशमा केहि गर्ने अवसर भए पनि चुपचाप बस्न बाध्य छन् । १ रोपनी जमिनले ४ जनाको परिवारलाई पुग्ने तरकारी खेति गर्दा आम्दानी हुने भएकाले युवाहरु विदेशिनु भन्दा स्वदेशमै बसेर खेति गर्न उहाँहरुले सुझाव दिनु भयो । ‘खेतिपातीको विकल्प छैन, देश छाडेर कहाँ जाउँ ?’– कृषक शालिकराम बञ्जाराले भन्नुभयो । शालिकराम जस्तै सोहि स्थानमा २ वर्ष अघि कृषि ब्यवसायमा संलग्न रामशरण थापाका २२ वटा टनेल छन् । ३ रोपनी जमिनमा खेति गरेका रामशरणले अघिल्लो वर्ष खेति गर्न नजानेकै कारण घाटा ब्यहोर्नु प¥यो । ‘तालिम छैन, जानकारी छैन, देखासिकीका आधारमा शुरु गरिएको ब्यवसायमा घाटा भयो’–कृषक रामशरण थापाले भन्नुभयो–‘यो वर्ष मुल्य चर्काे आउन थालेकाले अघिल्लो वर्षको घाटा र लगानी उठ्ने आशा छ ।’ रामशरण थापाको पनि चिन्ता त्यहि थियो आफुले उत्पादन गरेको सामानको मुल्य आफै र विक्री हुने वितिक्कै थाहा पाउन सकिदैन । 
    केहि महिना अघि मात्रै काभ्रेमा उत्पादन भएका गोलभेडा विक्री नहुँदा खोलामा फालेका दृश्य विर्साउँदै यतिखेर कृषकहरुले प्राप्त गरेको मुल्यबाट पुनः खेतिमा आर्कषण बढ्ने युवा कृषक पदमप्रसाद आचार्यले बताउनु भयो । ‘कहिले मुल्य आउँछ कहिले आउँदैन, धैर्य भएर खेति गर्दा कृषकका दिन पक्कै आउँछन’–कृषक पदमप्रसाद आचार्यले भन्नुभयो–‘अहिले पनौतीमा उत्पादन भएको गोलभेडा भारतसम्म पुग्ने गरेको छ ।’ संकलक महेश्वर बञ्जाराले भैरहवा पु¥याउन थालेको गोलभेडा भारत जाने गरेको बताउनु भयो । एक समय बंगलादेश लैजाने तयारी भएको भए पनि प्रकृया शुरु गर्दा गर्दै नेपालमै मुल्य बृद्धी भएकाले निर्यात गर्न नसकिएको उहाँले बताउनु भयो । अहिले भारतका लागि भैरहवा, बुटवल, सुनसरी लगायतका स्थानबाट गोलभेडाको माग हुने गरेको छ । दैनिक ४ ट्रक तरकारी सोहि क्षेत्रबाट विभिन्न स्थानमा निर्यात गरिएको भुवनेश्वरी तरकारी संकलन केन्द्र पनौती ८ का संचालक रामेश्वर बञ्जाराले बताउनु भयो । गोलभेडा, काक्रा लगायतका तरकारीहरु दैनिक संकलन हुने उक्त केन्द्रमा कृषकहरुले जति मुल्य पाउँदा पनि खाली हात नपठाईएको उहाँले बताउनु भयो । 
    पनौती ८ कै बालकृष्ण श्रेष्ठ र उनको श्रीमती सरस्वती श्रेष्ठले २०७२ सालबाट शुरु गरेको गोलभेडा खेतीबाट परिवार धान्न र घर निर्माणमा समेत सहयोग पु¥याए पछि डेड रोपनीको खेतिलाई बृद्धी गरेर साढे ९ रोपनी पु¥याईएको छ । ६२ वटा टनेलमा खेति शुरु गरेका श्रेष्ठ परिवार आफैले नियमित कार्य गरेर ब्यवसायलाई निरन्तरता दिईरहनु भएको छ । १० लाख रुपैया लगानी गरेर १५ लाख रुपैया आम्दानी गर्ने सोच बनाएका श्रेष्ठले आफन्तबाट बाहेक अन्यत्रबाट ऋण लिएका छैनन । केहि कृषकहरुले सरकारले उपलब्ध गराएको ४ प्रतिशत सहुलियत ऋण अनुदान लिएका छन् । खेतिका लागि सहज वातावरण, रासायनिक मल, विउँ पुँजी र मुल्य प्राप्त हुँदा युवाहरु विदेशिनु भन्दा स्वदेशमै खेति गर्न आर्कषण हुन सक्ने कृषकहरुको अनुभव छ । मध्यमार्ग कृषि सहकारीका अध्यक्ष प्रदिप केसीले कृषकहरुलाई सहजीकरण गर्ने उदेश्यले बागमती सरकार, कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले उपलब्ध गराएको अनुदान सबै शेयर सदस्यहरुलाई उपलब्ध गराईएको बताउनु भयो ।