2026 April 26/ 06:10: 14pm

    बनेपा/गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको सन्दर्भमा बनेपामा भने नियन्त्रण उन्मुख रहेको बताईएको छ । 
    बनेपा नगरपालिकाको वडा नम्वर १, २, ३, ४ र ५ मा फैलिएको र अन्य वडामा केहिमा मात्रै देखिएको तर हाल नियन्त्रणमा रहेको बनेपा नगरपालिका पशुपन्क्षी शाखा प्रमुख रामसुन्दर सापकोटाले बताउनु भयो । सापकोटाले पछिल्लो समय किसानहरूले बाच्छी नपाल्ने र हरेक महिना जसो फर्ममा नयाँ नयाँ गाई भित्र्याउने चलन बढेकाले यो रोग नियन्त्रण गर्न चुनौती सिर्जना भएको बताउनु भयो । बनेपामा मृत्युदर निकै कम भए पनि ६ हजार गाईमा उक्त रोग देखिएको सापकोटाले बताउनु भयो तर उक्त रोगको कारण किसानले ठूलो नोक्सानी व्यहोर्न परेको सापकोटाको भनाई रहेको छ । लम्पी स्किन रोग लगाउने भाईरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । आफ्नो फर्ममा यो रोग भित्रिन नदिन विश्वसनीय स्रोतबाट मात्र गाईभैँसी खरिद गर्नुपर्दछ । यो रोग लागेर गाई हटाएको स्थानमा कम्तिमा २१ दिनसम्म पुनःनयाँ गाई राख्न हुँदैन र नयाँ गाई राख्नुपर्दा पनि कम्तिमा २८ दिन पहिले यो रोग विरुद्धको खोप लगाएको गाईहरू मात्र खरीद गर्नुपर्ने सापकोटाले बताउनु भयो । त्यस्तै किसानले जैविक सुरक्षालाई विशेष ध्यान दिने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा जोड दिने गर्नुपर्ने सापकोटाले बताउनु भयो । 
    सापकोटाले यो रोग लाग्न र फैलन नदिन सबैभन्दा प्रभावकारी विधि खोप देखिएको बताउनु भयो । रोगको छिटो निदान गरी नियन्त्रण गर्न पशु प्राविधिकहरूलाई नमूना संकलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धि अभिमुखीकरण सबै वडामा गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । 
नगर प्रमुख शाान्ति रत्न शाक्यले नगरपालिकाले नगरबासीहरका लागी उक्त रोगको निशुल्क उपचार  र खोप लगाउदै आएको र किसानहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । किसानहरुको गोठमै पुगेर नगर प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटा, २ नम्बर वडा अध्यक्ष राम प्रसाद घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष रमेश प्रसाद दाहालले किसानहरुलाई नआतिकन अन्य समयमा भन्दा थप गोठ तथा गाईलाई सरसफाई, आहार एवं स्याहार गर्न सुझाब दिनु भयो । स्थानीय सरकार किसानहरुको दुख र सुखमा सगै रहेको समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । स्थानीय किसानहरुले नगरपालिकाले उचित राहतको ब्यबस्था गर्नु पर्ने बताएका थिए । लम्पी स्कीन रोग बिस्तारै कम हुदै गएको किसानहरुले बताएका थिए ।